औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देशमा औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्धि हुने बताउनुभएको छ ।
उहाँले उद्योग, कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सृजना हुने भएकाले उद्योगहरू र औद्योगिक क्षेत्रको स्थापना बिना देश समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

चितवनको कालिका नगरपालिकाद्वारा आज खोले सिमलमा आयोजित औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर– मझिमटार सुरुङमार्ग निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारको अन्तर मन्त्रालयहरुको समन्वय गर्ने जिम्मेवारी समेत पाउनुभएका राज्यमन्त्री श्रेष्ठले शक्तिखोर– मझिमटार सुरुङमार्ग निर्माणले शक्तिखोरमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास र देशको यातायातको पूर्वाधारमा महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा चितवन क्षेत्र नं.२ का सांसद तथा प्रतिनिधिसभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले देशमा उद्योग कलकारखाना बिनाको समृद्धि सम्भावना नभएको भन्दै पार्टीभन्दा माथि उठेर देशको समृद्धिमा सबै लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले देशको विकास र समृद्धिको लागि सडक, उद्योग कलकारखाना प्रमुख हुने भन्दै स्थानीयको समस्याहरूको पहिचान र समाधान गरि औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्ने बताउनुभयो ।
उहाँले चितवनको शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र देशकै मध्य भागमा रहेकोले यसको बढी महत्त्व रहेको भन्दै स्थानीयलाई रोजगारीको सृजना गरि औद्योगिक क्षेत्रको विकास गर्न सके नेपालीहरू बिदेसिने क्रमलाई कमी ल्याउन मद्दत पुग्ने बताउनुभयो ।
उपाध्यक्ष पौडेलले शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणले देशकै पूर्वी र पश्चिम भू-भागलाई राजधानीसँग जोड्ने वैकल्पिक र छोटो मार्गको रुपमा विकास हुने बताउनुभयो ।

कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले औद्योगिक क्षेत्रको निर्माणको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा एमालेका नेता देवी ज्ञवाली, उद्योग संघ चितवनका पूर्व अध्यक्ष राजु पौडेल, उदयपुर सामुदायिक बनका अध्यक्ष केशव लामा, नेपाली कांग्रेसका कालिका नगरपालिकाका सभापति दिपेश्वर केसी, माओवादी केन्द्रका नेता सबिता लामा, स्थानीयहरू मकरमान श्रेष्ठ, कमल आचार्य, लिलाबहादुर गुरुङ, टिकाराज रिजाल, कृष्ण कुमार श्रेष्ठ, शिवराम केसीलगायतले औद्योगिक क्षेत्र र सुरुङ मार्गको बारेमा आ–आफ्नो भनाई राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्