धनकुटा पनि निकालियो गाईजात्रा

धनकुटा । धनकुटामा शुक्रबार विभिन्न टोलबाट गाईजात्रा निकालिएको छ । नेवारी समुदायको बाहुल्यता रहेको धनकुटामा निकालिएको गाईजात्रा श्रीवानीमा भेला भएर एकै पटक बजार परिक्रमा गराइएको छ ।
गाईजात्रा मदनचोक, चुवाको बोट, कोशी ग्यास, परिचयम मोड, भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ । गाईजात्रासँगै लाखे नाच र लाठी नाच निकालिएको थियो। गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

हुन त गाईजात्रामा पहिले र अहिलेको परम्परामा धेरै फरक आइसकेको छ । पहिले गाई नै चाहिन्थ्यो भने अहिले मानिसलाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको छ । अहिले गाईजात्रालाई दिवङ्गत आफन्तको नाममा गाईजस्तो आकृति बनाएर नगर परिक्रमा गराउने पर्व भनेर बुझ्न थालिएको जानकार नविनकिशोर शाक्यले बताउनु भयो । तर, गाईजात्रा यति मात्र त हुँदै नभएको उहाँको भनाइ छ । संस्कृतिविदहरु गाईजात्रालाई शोक र उल्लासको संगम मान्छन् ।








प्रतिक्रिया राख्नुहोस्