भू:स्वर्ग पुण्यभुमी बुढिनन्दा

वारिउदाकी खेतीबेती पारिउदाकी विनी ।
ऐले माई बूढीनन्दा क्याउ बर दिन्नी ।।
शक्ति स्वरुपेणी बूढीनन्दा माताको यो वर्षको मेला आज सम्पन्न भएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष चतुर्दशी तिथिका दिन लाग्ने उक्त मेला सुदूरपश्चिम र कर्णाली प्रदेशबाट सयौँ भक्तजनहरू बूढीनन्दा जाने गर्दछन् । पुण्य भूमि बूढीनन्दालाई धार्मिक दृष्टिकोणले सोचेको पुरा हुने तथा पर्यटकीय दृष्टिकोणले भू–स्वर्गको एक टुक्राका रूपमा लिने गरिन्छ ।
समुद्री सतहबाट १६ हजार फिट उचाइमा अवस्थित बूढीनन्दा माताको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । हिमालय पर्वतमा अवस्थित अलौकिक देवी ‘बूढीनन्दा माताको’ दर्शन गर्न पारिवारिक तीर्थयात्राको स्मरणीय क्षणलाई पाठकसमक्ष पुर्याउन जमर्को गरिएको छ । यात्राको क्रममा हामीले जे जस्तो देख्यौँ र भोग्यौँ त्यही कुरा यात्रा स्मरणका रूपमा यहाँहरू माझ राख्न चाहन्छौँ ।

१६ हजार फिट उचाइमा अवस्थित बूढीनन्दा माईको नेजारबाट तल हेर्दा वारिपट्टि खेतीपाती गरेझैँ समथर भूमि, पारिपट्टि हेर्दा बिनी (धौलीबगर) जो सानो खोला तर दूध बगेझैँ कलकल बगिरहेको धौलीबगर देखिन्छ । धर्तीको एक टुक्रा स्वर्गझैँ मनमोहक छ । त्यही धर्तीलाई स्वर्गको टुक्रा सम्झेर भक्तजन श्रद्धालुहरू माङ्गल भजन गाउँदै एकत्रित मनले बूढीनन्दा माताको दर्शन गर्न जाने गर्दछन् । यस यात्रा स्मरणमा सुन्दर २२ पाटन, धार्मिक एवं पर्यटकीय महत्त्व गोठालाले गरेका स्वागत र समग्रमा बूढीनन्दा माताको महिमामा समर्पित छ ।
एकत्रित मनले पवित्र देवभूमि बूढीनन्दा पुगेपछि अविवाहितले बर बधू पाउने, निःसन्तानले सन्तान, निर्धनीले धन र अशिक्षितले शिक्षा प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको र भाकल पूरा भएकै कारण परापूर्वकालदेखि बूढीनन्दा माताको दर्शन गर्ने प्रचलन रहेको छ ।
शक्ति स्वरुपेणी आराध्य देवी बूढीनन्दा माताको मन्दिर बाजुराको बूढीनन्दा नगरपालिका वडा नं ३ मा अवस्थित छ । बूढीनन्दा मन्दिर ४ हजार ५ सय ८१ मिटर उचाइमा पर्दछ । सदरमुकाम मार्तडीदेखि करिब ५६ किलोमिटर दुरी छ भने कोल्टीबाट करिब ३० किलोमिटर दुरी पर्दछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष त्रयोदशी तिथिदेखि बुढीनन्दा माताको दर्शन गर्न तीर्थालु भक्तजन मेला भर्न जाने गर्दछन् । यस वर्षको धार्मिक तथा पर्यटकीय मेला पनि भाद्र २६ गते अर्थात् आज सम्पन्न भएको छ । वर्षको एक पटक भाद्र शुक्ल पक्षमा लाग्ने उक्त मेला भर्न बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा र कालिकोट लगायतका तीर्थालु भक्तजन जाने गर्दछन् ।

बूढीनन्दा माताको प्रवेशद्वार सिमकुरुदेखि माथिको सचित्र वर्णन गरिएको छ । त्यहाँको भू-बनोट हेर्दा पहाडी उपत्यका जस्तो । जहाँ वरिपरि डाँडै डाँडा बीचमा बुढिनन्दा खोला कलकल बगिरहेकी, चराचुरुङ्गी चिरबिर आवाजमा गीत गाइरहेका, माथि सिरानीमा पाटनमा घोडा भेडा लस्करै चुन चरिरहेका दृश्यले मन प्रफुल्ल बनाउँछ । पारि पट्टी नौमुले धारा । जहाँ एकै साथ नौमुल कलकल बगिरहेका दृश्यले मनै लोभ्याउँछ । नौमुलमा स्नान ध्यान गर्नाले पाप हरण हुन्छ । मन शान्ति हुन्छ । यहाँ चर्म रोग पनि निको हुने मान्यता पनि रही आएको छ ।
यात्राका क्रममा देखिने माङ्गल नाचगान अनि घनघोर जङ्गलको उकालोमा रमाउँदै जाँदाको यात्रा झनै उत्साहित भएर आउँछ भने बाटोमा गोठाला दाइले दही, दूध, नैवेद्य, बुकी फूल र चुनले सजाएर राखेका दृश्यहरूले एउटा चहलपहलको माहोल बनाएको देखिन्नुका साथै तीर्थालुको स्वागत गर्न आतुर छन् भन्ने दर्साउँदछ ।
तीर्थालुहरुले खाने शुद्ध शाकाहारी खाना बूढीनन्दाको प्रसादको रूपमा लिने गरिन्छ । यात्राका क्रममा मिठो खानासँगै गोठालासँग एक छिन गफिँदै गर्दा गोठालाहरूको गुनासा गुनासो पनि सुनियो । “लादे छाप्रे पाटनसम्म सडक सञ्जाल जोडिएको भए अझै बूढीनन्दाको महिमा अझै बढ्ने थियो । हाम्रो पहुँच छैन पहुँचवाला टेर्दैनन् ।” दलवीर रोकायालगायत गोठाला दाइका तमाम वेदना सुन्यौँ । ती गुनासा सरोकारवालाबाट सुनुवाइ भइदिए हाम्रा लागि पनि यात्रा सहज हुने महसुस हामीले पनि गर्यौँ ।
त्यसपछि टोपी खस्ने उकालो चुन र सयौँ थरथरीका बुटी र सुगन्धवाल फूलसँगै रमाउँदै छाप्रे पाटन पुग्दा किंवदन्तीअनुसार बूढीनन्दा देवी कोल्टीको चौकी लेख छोडेर मृगको रूप धारण गरी छाप्रे ओडारमा बास बस्नुभएको रे ! सोही मान्यताअनुसार तीर्थाटनमा गएका भक्तजनले एक रात छाप्रे ओडारमा बास बस्नै पर्ने धार्मिक मान्यता भन्ने सपनि थाहा पाइयो त्यहाँ । त्यो स्थान कुण्डा क्षेत्रबाट आउने तीर्थालुहरूको सङ्गमस्थल पनि हो । त्यहाँ बेलुका सबै भक्तजनहरूसँग भेट पनि हुने रहेछ । सयौँ यात्रु छाप्रे ओडारमा जाग्राम बसी बयालोको सिरेटोसँगै त्रिपालको सहारामा रातभर माङ्गल गाएर जाग्राम बस्ने गर्दा रहेछन् त्यसमा पनि भगवान् भक्तिको आनन्द बेग्लै । हामीले पनि त्यसको महसुस गर्यौँ ।
भोलिपल्ट भक्तजनको लस्करसहित पाँणा पुजाराका (मुख्य मान्छे) साथमा बूढीनन्दातर्फ लम्किदा अनौठो अनि सुरक्षित पनि महसुस हुने गर्दछ । पुजारी र स्थानीय अगुवाभन्दा अघि हिँड्न नपाइने त्यहाँको चलन रहेछ भने जुत्ता चप्पल त्यही छाप्रे पाटन छोडेर जानुपर्दो रहेछ । चार सयभन्दा बढी भक्तजनमा दुई चार जनाले जुत्ता लगाएर जबरजस्ती जाँदा बूढीनन्दामा औँला काटिएको भन्ने रहेछ । तर नाङ्गा खुट्टा हिँड्नेलाई भने केही नभएको भन्ने बुझो पाइयो त्यसले हामीलाई पनि झन् विश्वास जाग्यो । अघि बढ्दै जाँदा निधारमा अक्षताझै टल्किने अदानचुली पाटनमा घोडा–भेडा चरिरहेका देख्दा प्रकृतिदेखि कसको पो मन नलोभिएला यसले यात्रालाई आनन्दित पनि बनायो ।

बूढीनन्दा क्षेत्रको २२ पाटन जहाँ घोडा–भेडा चरिचरन क्षेत्रका रूपमा लिइन्छ । अदानचुली पाटनबाट अत्यन्त मनोरम देखिन्छ । २२ पटानलाई अनगन्ती जडीबुटीको भण्डारका रूपमा पनि लिने गरिन्छ । हिमालका सयौँ डाँडा पाखा, नौ पाखे, सात फेरे छिचोलेर चरी दह पुगिन्छ । माथि वर माग्ने डाँडामा बूढीनन्दा माताबाट चाहेको वर माग्न साङ्केतिक वर मागिन्छ । तल चरी दह पुगेर स्नान ध्यान गरिन्छ । पितृ श्राद्ध र मतवालाले जनै धारण गर्ने प्रचलन छ । अरू श्रद्धालुले स्नान गरी शुद्ध भएर मात्र बूढीनन्दाको यात्रा तय गर्नुपर्ने हुन्छ ।
शङ्ख घण्ट फुक्दै धौली भरणमा पुग्दा अद्भुत दैवी शक्ति रहेको धनभ्राण (ओडार)मा पुग्न अलि गाह्रो हुने र करिब १५ हजार फिट माथि अवस्थित उक्त ओडारमा सयौँ मानिस अटाउने रहेछ । सबैले सबैलाई प्रसाद बाँड्ने चलन त्यहाँ हुने रहेछ । यसको फाइदा कसैको प्रसाद सकिएको भए पनि साथ सङ्गीको सहायतामा प्राप्त फलाहारले भोक तिर्खा मेट्दा सजिलो महसुस हुने अनुभव पनि बटुलियौँ ।
धौली भराणको एक बासपछि भाद्र शुक्ल चतुर्दशीका बिहान बूढीनन्दा माताको दर्शन गर्न हिमपहिरो र चट्टान छिचोल्दै हामी १६ हजार फिट माथि बूढीनन्दा देवीको शरणमा पुगिन्छ । जहाँ रुख बिरुवा बुट्यान केही छैनन्, छ त केवल हिमालका जर्जर चुचुरा हिउँ र हत्केले बाटो । जहाँ पाण पुजारा अघि अघि र भक्तजनहरू पछि पछि हुन्छन् । बूढीनन्दा माताको जयजयकार गर्दै अलौकिक संसार बूढीनन्दाको देवदह तालमा प्रवेश गरिन्छ । जहाँ राक्षसी दह, देवदह बूढीनन्दा ताललगायत चारवटा ताल छन् । बूढीनन्दा तालको परिक्रमा गर्न ३५ देखि ४५ मिनेट लाग्छ । तालको परिक्रमा गर्दा पाप हरण हुने धार्मिक विश्वास रहेको छ ।

बूढीनन्दा भगवती कसरी प्रकट भइन् ?
जनप्रकाश मावि कोल्टीका प्राचार्य तथा खोजकर्ता अनोजराज गिरी स्थानीय जानकारलाई उद्धृत गर्दै आफ्नो स्नातकोत्तरको शोधपत्रमा उल्लेख गर्नुहुन्छ– “कुनै समयमा भगवती कोल्टीको चौकी लेकमा पहिलो बास हुन्थ्यो । चौकी लेकमा देवीको बास हुँदै गर्दा पछिल्लो समयमा मान्छे गएर फोहोर गर्ने, गाईबस्तु छाडा छोड्ने, कुखुराको डाको सुनेर भगवती त्यहाँबाट विलय भएकी किंवदन्तीमा उल्लेख गर्नुभएको छ ।
स्थानीय एवं शिक्षक डम्बर रोकायाका अनुसार भुलेनाबाट कुखुराको डाको सुनेर लङ्कारी दहमा नुहाएर मृगको रूपमा भगवती कोल्टी भाग्नुभएको, नुरीवासी दाने र पल्लाने मृग देखेपछि सिकार गर्न मृगका पछि पछि लागेको, बेलुकासम्म मृग नभेटाएपछि छाप्रे पाटनमा बास बसेका, भोलिपल्ट बिहान मृग नभेटेपछि घर फर्किन थाल्दा नजिकै मृग फेरि भेटेको किंवदन्ती छ ।
छाप्रे पाटनबाट भागेको कस्तरी लौरी विनायक पुगेर विश्राम लिएको र त्यसपछि सात पाखे नौ फेरे हुँदै वर माग्ने डाँडा, गाई गोठ हुँदै चरी दह पुगेको, चरी दहमा स्नान गरी धौलीबगर हुँदै बीच बीचमा ढुङ्गा गडेको अहिले पनि देखिन्छ । जो कि मान्छे नहराओस् भन्ने मान्यता छ ।
बाह्रैमास हिमालमा अवस्थित नवदुर्गाका रुपमा बस्नुभएकी बूढीनन्दा माताले यो हिमालमा म एक्ली कसरी बसौँला दाजु भन्नुहुन्छ भन्ने किंवदन्ती रहेको छ । बूढीनन्दा तालमा स्नान ध्यानपछि तालको पश्चिमतिर फटकसिलामा सजाइएकी बूढीनन्दा माताको मूर्तिमा दर्शन गरिन्छ । बूढीनन्दा माताको दर्शन गरी फर्कने बेला यो हिमालमा मलाई एक्लै नछोड्नु म कसरी एक्ली बसुँला भन्ने माङ्गल सुनाउँदै आफ्नो गच्छे अनुसारको फूलफलहार, शङ्ख–घण्ट चढाएर स्वर्गतुल्य भूमि बूढीनन्दाबाट भक्तजनहरू फर्किने गर्दछन् ।
हियाइन शङ्कर दाज्यु क्याको खाना खाउँला ।
मुलुकका फूलपाती नैवेद ल्याई प पुर्याउँला ।।
हियाइन शङ्कर दाज्यु एक्ली कसी रौंला ।
मुलुकका तेल घिय ल्याई प पुर्याउला
बस बैना नवदुर्गा हियाइन शङ्कर ।।
हियाईन शङ्कर दाज्यु रुखी कसरी रौंला ।
मुलुकका आल भेटी ल्याई प पुर्याउला ।।
मुलुकका तेल घिय ल्याई प पुर्याउला ।
बस बैना नवदुर्गा हियाइन शङ्कर । ओ हियाइन शङ्कर ।








प्रतिक्रिया राख्नुहोस्