तपाईँ सुन्दै हुनुहुन्छः

झापाको गौरीगञ्ज नाकामा ठुलो परिमाणमा नक्कली कपाल बरामद

भद्रपुर, झापा । झापाको गौरीगञ्ज नाकाबाट  ठूलो परिमाणमा महिलाले लगाउने नक्कली कपाल बरामद भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले हिजो बेलुका गौरीगञ्ज नाकाबाट नेपाल भित्र्याएको ३३ पोका नक्कली कपालसहित कन्टेनर नियन्त्रणमा लिएको हो । 

यसरी अवैध रुपमा नेपाल भित्र्याइएको कपाल पहिलो पटक बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ  । योसँगै, नेपालमा भारतबाट नक्कली कपालको तस्करी भइरहेको रहस्य पनि खुलेको छ । 

सशस्त्र प्रहरीले हिजो बेलुका गौरीगञ्ज–पाडाजुँगी सडक खण्डअन्तरगत गौरादह–७ स्थित ग्वालडुब्बामा गौरीगञ्जबाट आइरहेको ना ७ ख २१९६ नम्बरको कन्टेनर शङ्का लागी चेकजाँच गर्दा कन्टेनरभित्र ३३ पोका नक्कली कपाल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी तथा प्रवक्ता प्रेम भण्डारीले जानकारी दिनुभयो । नीलकण्ठ ढुवानी सेवाबाट सञ्चालित कन्टेनर गौरीगञ्जबाट दमक हुँदै काठमाडौँतर्फ जान लागेको थियो । 

एउटा पोकामा ३० केजी कपाल रहेको छ र एक केजी कपालको भारतीय मूल्य २ हजार ५ सय रुपैयाँ पर्छ । कन्टेनरमा रहेको ९९० केजी कपालको नेपाली बजार मूल्य करिब ३९ लाख ६० लाख रुपैयाँ पर्ने प्रहरीको भनाइ छ ।

कन्टेनर, चालक र कन्टेनरभित्र रहेका अन्य सरसामानको समेत ९४ लाख ४८ हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको डिएसपी भण्डारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button