तपाईँ सुन्दै हुनुहुन्छः

साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडौँबाटै

भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ ।

भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातायात सञ्चालनमा कठिनाइ भएपछि गाउँपालिकाले  काठमाडौँमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो । 

काम विशेषले काठमाडौँ पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनभयो । 

‘‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’’ उहाँले भन्नुभयो,‘‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ ।”

जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडौँमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । 

स्थानीयवासीबाट माग भएकाले धरान विराटनगर, इटहरी झापालगायत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विभिन्न संघीय मन्त्रालयको कामको लागि काठमाडौँ पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रममार्फत सेवा प्रवाह गरेको उहाँको भनाइ छ ।

बर्सात लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्द हुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button