तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरू बन्द

पोखरा ।विद्यार्थीहरूमा एडिनो भाइरस देखिएपछि पोखराका अधिकांश विद्यालयहरू बन्द भएका छन् । उच्च ज्वरोले अस्पतालमा पुगेका ५० प्रतिशत बालबालिकामा एडिनो भाइरसका लक्षण भेटिएको छ ।

अधिकांश विद्यार्थीहरूमा उच्च भाइरल ज्वरोको मात्रा बढी देखिएपछि विद्यालयनै बन्द गर्नुपरेको हो । एडिनो भाइरसले विद्यार्थीहरूमा उच्च ज्वरो, टाउको दुख्ने, रुघाखोकी लाग्ने, वान्ता र झाडापखाला जस्ता लक्षण देखिएपछि पोखराका अधिकांश विद्यालय बन्द भएका हुन् । अन्य व्यक्तिहरूमा समेत भाईरस ज्वरोको संक्रमण देखिएको छ ।

भाइरस ज्वरोका बिरामीहरूले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बेडहरू भरिभराउ भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिनुभयो । पोखरामा एडिनो भाइरस चेकजाँच गर्ने मेसिन नहुँदा के भएको हो ठ्याक्कै भन्न नसकिएता पनि एडिना भाइरसको अनुमान गरिएको उहाँले बताउनुभयो । समस्या बढ्दै गए काठमाडौँ चेकजाँचका लागि नमुना पठाएर भए पनि समस्याको समाधान खोजिने उहाँले बताउनुभयो ।

यस्तो किसिमको भाइरसले विद्यार्थी संक्रमित् भएपछि पोखराका स्कुल बन्द हुने क्रम बढेको छ । विद्यार्थीमा उच्च ज्वरो आएपछि पोखरा १४ मा रहेको सहिद स्मृति विद्यालयले आइतबारबाटै पठनपाठन बन्द गरेको छ । विद्यार्थी स्कुल आउनै छाडेपछि पोखरा १९ मा रहेको गण्डकी बोडिङ स्कुलले पनि बुधवारबाट पठनपाठन रोक्ने सूचना जारी गरेको छ ।

एडिनो भाइरस नेपालमा काठमाडौँ हुँदै पोखरा छिरेको हुन सक्ने अनुमान गरिएको छ । ‘ एडिनो भाइरस पत्ता लगाउन काठमाडौँको टेकु अस्पताल जानुपर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button