तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति कांग्रेस प्रवक्ता महतद्वारा दुख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गएराती परेको अविरल वर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न  स्थानमा पुगेको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “गएरातिको अविरल वर्षाले नुवाकोटको तादी खोलामा  आएको बाढीबाट  जिल्लाको  क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी, तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्की पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्की पुलहरूमा व्यापक क्षति पुगेको छ । म यस प्राकृतिक प्रकोपबाट पुगेको क्षति प्रति दुःख व्यक्त गर्दछु ।”

महतले बाढी र पहिरोका कारण नुवाकोटका आधा दर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्धार कार्यमा लाग्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।

उहाँले प्राकृतिक विपद्को यस घडीमा  मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्धार र राहत कार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गर्दै तत्काल क्षतिको यथार्थ आङ्कलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

कांग्रेस प्रवक्ता डा.महतले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्‍याएको सडक, पुल, खानेपानी आयोजना, सिँचाइ आयोजना लगायतका  संरचनाहरूको अनुगमन मूल्याङ्कन गरेर यथाशिध्र मर्मत, सम्भार र पुनर्निर्माण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button