तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफा गरेको प्राधिकरणले गत आर्थिक वर्षमा २०७८/७९मा नाफा बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

प्राधिकरणको आव २०७८/७९को अपरिष्कृत वित्तीय विवरण अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

file photo

योसँगै सार्वजनिक संस्थाहरूमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको, विद्युत् निर्यात वृद्धि भएको, प्राधिकरणका स्वामित्वका विद्युत् गृहबाट विद्युत् उत्पादन करिब १६ प्रतिशतले वृद्धि भएको, विद्युत् चुहावट नियन्त्रण, खर्च नियन्त्रण आम्दानी वृद्धि जस्ता कारणले प्राधिकरणको खुद नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यस पछिका वर्षहरूमा निरन्तर नाफामा छ ।

आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्‍याएको थियो । तर, आव २०७७/७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताउनुभयो । प्राधिकरणले विद्युत् बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् महसुल सङ्कलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत् बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

विद्युत् चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

प्राविधिक तथा गैह्र प्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ । विद्युत् प्रणालीमा आव ०७२/७३मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरूमा निरन्तर घटाएर आव २०७६/७७मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो ।

आव २०७८/७९मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा झारिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

विद्युत् निर्यात बढ्यो, खुद आयात घट्यो

आव २०७८/७९मा भारतर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा आव २०७८/७९मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ ।

विद्युत् निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत् खपत २१.२८ प्रतिशतले वृद्धि हुँदा समेत प्राधिकरण विद्युत् आयातलाई घटाउन सफल भएको छ ।

आन्तरिक माग धान्न आव २०७७/७८ मा २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत् आयात गरिएकोमा आव २०७८/७९मा ४५.०५ प्रतिशत घटेर १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको प्राधिकरणले उल्लेख गरेको छ ।

आव २०७७/७८मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत् आयात भएको थियो । आव २०७८/७९मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत् घटाउँदा खुद आयात एक अर्ब ५ करोड युनिट हुन्छ । रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाँको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९.४९ प्रतिशतमा झरेको छ ।

कार्यकारी निर्देशक घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने बताउनुभयो । आव २०७८/७९मा विद्युत् पिक डिमान्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत् प्रयोग गर्ने ग्राहकको संंख्या सामुदायिक सहित ५३ लाख पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button