बैतडीमा भूमि आयोगको काम अघि बढेन, निराशामा भूमिहीन
बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उद्देश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रूपले अघि बढ्न सकेको छैन ।
१० स्थानीय तह रहेको बैतडीमा ३ पालिका बाहेक अन्यमा कामको सुरुवात नै भएको छैन । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा काम सुरु भएको छ भने शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाले आयोगसँग सम्झौता गरेका छन् ।

जिल्लाका ७ स्थानीय तहले भूमि आयोगसँग सम्झौता सम्म गरेका छैनन् । आयोग गठन भएका बेला जग्गा प्राप्त हुने आस बोकेका व्यक्तिहरूमा निराशा छाएको अधिकारकर्मी राजुराज भुलले बताउनुभयो ।
बैतडीमा करिब ९ हजार व्यक्ति सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी हुनसक्ने भुलको भनाई छ ।
भूमिहीनलाई जग्गा प्रदान गर्ने कार्यक्रम स्थानीय तहको उदासीनताका कारण ओझेलमा परेको राष्ट्रिय भूमि आयोग बैतडीका अध्यक्ष धर्मसिंह ऐरले बताउनुभयो ।
स्थानीय तहले आयोगको केन्द्रीय कार्यालयसँग सम्झौता गरेपछि आफूहरू तथ्याङ्क सङ्कलन गरेर काम अघि बढाउने ऐरले बताउनुभयो ।
बैतडीमा आयोग गठन भएको ४ महिना पुरा भएको छ भने काम शून्य जस्तै छ । आयोगका पदाधिकारीहरू पनि फुर्सदिला देखिएका छन् ।
सम्झौता नगरेका स्थानीय तहले केही दिनमै सम्झौता गर्ने बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्