तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती

बझाङ । वर्षातको समयमा दैनिकजसो परेको पानीले जिल्लाको ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई स्वास्थ्य लगायत अन्य सेवा लिन समस्या भएको छ । खप्तडछान्ना गाउँपालिकाको गोरखालीदेखि जयपृथ्वी नगरपालिकामा पर्ने जिल्लाको सदरमुकाम चैनपुर सम्म पुग्ने बाटो ०७८ असोज ३१ गतेदेखि अवरुद्ध हुँदा अत्यावश्यक स्वास्थ्य सेवा लिनबाट स्थानीय वञ्चित भएको खप्तडछान्ना गाउँपालिका–५ की स्थानीय कल्पना उपाध्यायले गुनासो गर्नु भएको छ ।

खप्तडछान्ना गाउँपालिका–४ मेल्तडीका गौतम रोकायाको खेल्ने क्रममा गत सोमबार साँझ दायाँ हात भाँचियो । भाँचिएको हातको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा सम्भव नहुने भएपछि मङ्गलवार उनलाई बोकेर चैनपुरस्थित जिल्ला अस्पताल पुर्‍याइयो । 

मेल्तडीबाट सात घण्टा हिँडेर जिल्ला अस्पताल पुगे पनि अस्पतालले उनको उपचार यहाँ नहुने भन्दै डडेलधुरा वा धनगढी जान सुझाव दियो । करिब एक बर्ष हुन लाग्दा समेत अवरुद्ध भएको बाटो मर्मत नहुँदा स्थानीयले समस्या भोग्नु परेको गौतमका मामा लोकेन्द्र रावलले बताउनुभयो ।

बाढीले बाटो अवरुद्ध भएको लामो समयसम्म पनि मर्मत हुन नसक्दा यहाँका बिरामीलाई स्टेचरमै बोकेर करिब ७ घण्टाको पैदल बाटोबाट जिल्ला अस्पतालमा लगेर उपचार गराउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यस्तै खप्तडछान्ना गाउँपालिका–५ सुतारी गाउँ निवासी १३ वर्षीय सुशील सार्कीको टाउकोमा पानी जमेपछि साउन ८ गते उपचारको लागी भारतको दिल्ली जानु पर्ने अवस्था भयो । बाटो बिग्रिएका कारण गाडी बोलाउने अवस्था थिएन । टाउको धेरै दुख्न थालेपछि बिहान स्टेचरमै बस स्टेसन सम्म बोकेर लगे ।

उहाँहरू मात्र हैन वर्षातको समयमा दैनिकजसो परेको पानीले पनि खप्तडछान्नामा हिँड्ने बाटो समेत बाढीले कटान गर्दा स्थानीयलाई स्वास्थ्य संस्था लगायत अन्य ठाउँमा जान समस्या भएको छ । गत असोज ३१ गते देखि कार्तिक ३ गते सम्म परेको अविरल वर्षा सँगै आएको बाढीले जडारीगाडले सडकमा क्षति गरेकाले स्थानीयलाई अत्यावश्यक सेवा लिन समस्या भएको खप्तडछान्ना गाउँपालिकाका स्थानीय भोटे सार्कीले जानकारी दिनुभयो । 

सुत्केरी, वृद्धवृद्धा तथा बालबालिकाले समेत स्वास्थ्य समस्या भएको बेला सहजै सेवा लिन नपाएको उहाँले बताउनुभयो । सडक जेठमा केही मर्मत भए पनि वर्षातको भेलले मर्मत गरेको सबै बगाउँदा अधिकांश क्षेत्र अवरुद्ध भएको र आवतजावत गर्न धेरै कठिनाइ हुने गरेको खप्तडछान्ना गाउँपालिका–७ का स्थानीय ज्ञान बहादुर चौहानले बताउनुभयो । गाडी चल्न सकेका छैनन्, उहाँले भन्नुभयो,‘बस्तीमा कोही बिरामी भएमा अहिले अस्पतालसम्म पुर्‍याउन कठिनाइ हुने गरेको छ । विद्यार्थीलाई विद्यालय जान असहज भएको छ ।’ सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दै आएपनि स्तरवृद्धिको काम हुन नसकेकाले समस्या बढ्दै गएको उहाँको भनाई छ ।

यता खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापाले सडक अवरुद्ध हुँदा वर्षातको समयमा आफु लगायत स्थानीयलाई समेत समस्या भएको स्वीकार गर्नुभयो । थापाले भन्नुभयो,‘गाउँपालिकाको सडकमा ४,५ स्थानमा खोलाले कटान गरेर सडक अवरुद्ध पारेको छ । अहिले मर्मत गरेपछि खोलाले धार परिवर्तन गरेर बगाइहाल्छ ।’ त्यसैले पानी पर्न कम भएपछि असोज बाट मर्मतको काम सुरु गर्ने बताउनुभयो । बाढीले हिँड्ने बाटो समेत बगाउदा युवाहरू मिलेर विभिन्न ठाउँमा अवरुद्ध भएको बाटो मर्मत गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button