शान्ति पुनर्स्थापना गृहद्वारा गत आर्थिक वर्षमा २ सय ८५ जनाको उद्धार

कञ्चनपुर । शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले गत आर्थिक वर्ष २०७८÷७९ मा सीमा निगरानी कार्यक्रम अन्तर्गत कञ्चनपुरमा चार वटा सीमा नाकाहरूबाट २ सय ८५ जनाको उद्धार गरेको छ ।
शाखा कार्यालय महेन्द्रनगर एवं सम्पर्क कार्यालयहरू ब्रह्मदेव, दोधारा चाँदनी र बेलौरीबाट भारत तथा भारत हुँदै तेस्रो मुलुकतर्फ जाने ३ हजार ४ सय ६५ जना महिला तथा बालबालिकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सूचना तथा परामर्श सेवा प्रदान गरेको थियो ।

जसमध्ये मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका २ सय ८५ जनाको उद्धार गरेको हो ।
संस्थाले मानव बेचबिखन तथा ओसारपसार र विभिन्न हिंसा एवं यौन दुर्व्यवहारमा परेका नौ जना महिला तथा बालबालिकाको उद्धार गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध दुई जना र जबरजस्ती करणी विरुद्ध सात जनाको मुद्दा दर्ता गरी कानुनी सहयोग गरेको बताइएको छ ।
यस्तै तीन जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका जिल्ला कार्यक्रम संयोजक सञ्जीत सिंहले बताउनुभयो ।

यस्तै, शाखा कार्यालय महेन्द्रनगरले कञ्चनपुरको गड्डाचौकी सीमा नाकाबाट नेपालदेखि भारत हुँदै तेस्रो मुलुकतर्फ जाने महिला तथा बालबालिकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सूचना तथा परामर्श सेवा प्रदान गरी जोखिममा रहेका २ सय ५८ जना पीडितहरूको उद्धार गरिएको थियो ।
पीडितहरू मध्ये तीन जना महिला तथा बालबालिकालाई रोजगारीको वातावरण सृजना गरी क्षमता विकास र अध्ययनको लागि अन्य सङ्घसंस्थामा पठाइएको गृहका सुपरभाइजर मनीषा न्यौपानेले जानकारी दिनुभयो ।
यस्तै सम्पर्क कार्यालय ब्रह्मदेवको सीमा नाकामा रहेको सूचना तथा परामर्श केन्द्रबाट गत आर्थिक वर्षमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जोखिममा रहेका १० जना पीडित महिला तथा बालबालिकाहरूको उद्धार गरिएको परामर्शदाता ललिता जोशीले जानकारी दिनुभयो ।
यसैगरी, सम्पर्क कार्यालय दोधारा चाँदनी सीमा नाका तिननालामा रहेको सूचना तथा परामर्श केन्द्रबाट गत आर्थिक वर्षमा १० जना पीडित महिला तथा बालबालिकाहरूको उद्धार गरी एक जना पीडित बालिकालाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध र एक जनालाई जबरजस्ती करणी विरुद्ध मुद्दा दर्ता गरिएको परामर्शदाता रेखा भण्डारी पुजाराले जानकारी दिनुभयो ।

त्यस्तै, सम्पर्क कार्यालय बेलौरीमा गत पुस २८ गतेदेखि असार मसान्तसम्म सूचना तथा परामर्श केन्द्रबाट पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकासँग समन्वय र सहकार्य गरी सात जना पीडित महिला तथा बालबालिकाहरूको उद्धार गरिएको थियो । जसमध्ये दुई जना महिला र एक जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बलसँगको सहकार्यमा भारतबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गरिएको परामर्शदाता नितु विष्टले जानकारी दिनुभयो ।
शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय गरेर आफ्ना कार्यक्रमहरू, सीमा निगरानी, क्षमता विकास, पुनर्स्थापना तथा पुनर्मिलन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा नाका, ब्रह्मदेव, दोधारा चाँदनी र बेलौरीमा आफ्नो सूचना तथा परामर्श केन्द्र (विट) राखी त्यस क्षेत्रबाट हुने ओसारपसार नियन्त्रण गर्दै आइरहेको गृहले जनाएको छ ।

यस क्षेत्रमा कोरोना महामारीका कारण सीमा नाकाहरूमा हुने मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेकोले यसलाई न्यूनीकरण गर्न प्रहरी प्रशासन, स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, समाजसेवी, बुद्धिजीवी, भारतीय प्रहरी प्रशासन लगायतका निकायसँग हातेमालो गरी आफ्ना कार्यहरू गर्दै आएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरका जिल्ला कार्यक्रम संयोजक सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्