पूर्वपश्चिम राजमार्ग काँकडभिट्टादेखि लौकहीसम्म चार लेनको बनाउन पुसदेखि काम शुरु हुने

झापा । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १ सय २० किलोमिटर पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि आगामी पुस महिनादेखि निर्माण कार्य सुरु हुने भएको छ ।
आज मेचीनगर नगरपालिकाको सभाहलमा काँकडभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
सो आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकडभिट्टादेखि लौकही सडक १ सय २० किलोमिटर लम्बाई स्तरोन्नतिको आयोजनाका विषयमा जानकारी गराउनु भएको थियो । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा सुरु गर्न लागेको सो आयोजनाको विस्तृत अध्ययन र चार लेनको सडक निर्माणको स्तरोन्नति एसियाली विकास बैङ्कले लगानी गर्ने भएको छ ।
यो आयोजना झापा, मोरङ र सुनसरी जिल्लामा हुनेछ । काँकडभिट्टाको मेची पुलबाट सुरु हुने सडक निर्माण लौकहीमा गएर समापन हुनेछ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नति हुनेछ ।
पूर्वपश्चिम राजमार्गको केन्द्रबाट २५–२५ मिटरका सडकमा स्तरोन्नति हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ । जसमा ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको सडक क्षेत्र हुने गरिको निर्माण प्रस्ताव मन्त्रालयले गरेको छ ।
आयोजनाले झापाको काँकडभिट्टा, ईटाभट्टा, चारआली, बिर्तामोड, चारपाने, लक्ष्मीपुर, सुरङ्गा, कोटीहोम, दुधे, झिलझिले, पाडाजुङ्गी, दमक, मोरङको उर्लाबारी, मङ्गलवारे, पथरी, कानेपोखरी, बेलबारी, लालभित्ती, विराटचोक, सलकपुर तथा सुनसरीको इटहरी, पकली, झुम्का, इनरुवा र लौकहीसम्म सडक विस्तार गर्नेछ ।
आयोजनाले सडक स्तरोन्नतिका लागि २८ अर्व १७ करोड ८९ लाख ७१ हजार १२७ रुपैयाँ लाग्ने जनाएको छ । पुसदेखि सुरु हुने सो आयोजना ३ वर्षमा सकिनेछ ।
सडकमा पर्ने वनजंगल, मन्दिर, घरटहरा, मलामी घाट लगायतका संरचना, वन्यजन्तुको वासस्थान, हिँड्ने बाटो र निर्माणमा हुने वातावरणीय असर लगायतका विषयमा जनप्रतिनिधि र सरोकारवालाहरूसँग छलफल भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्