तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक वर्षमा १ करोड ३३ लाखभन्दा बढीका सेनेटरी प्याड खरिद

अछाम । अछामका १० वटा पालिकाले वार्षिक रुपमा १ करोड ३३ लाखभन्दा बढीको सेनेटरी प्याड खरिद गरेका छन् । 

गत आर्थिक वर्ष २०७७/०७८ मा अछामका १० वटा स्थानीय तहले वार्षिक २ लाख ९ हजार ५ सय थान प्याड खरिदमा १ करोड ३३ लाख ९० हजारभन्दा बढीमा आर्थिक वर्षको अन्त्यमा खरिद गरी मौज्दात राख्ने गरेको महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एउटा पालिकाले कम्तीमा साढे ५ लाखदेखि बढीमा साढे २० लाखसम्म एक वर्षमा सेनेटरी प्याड खरिद गरेका छन् ।  सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि सरकारले स्थानीय सरकारमार्फत निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । 

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिका र  सबैभन्दा बढी मंगलसैन नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको पाइएको  छ ।

मंगलसैन नगरपालिकाले ५३ हजार ५ सय ६७ थान सेनेटरी प्याड खरिदमा २० लाख ४७ हजार खर्च गरेको छ ।

जिल्लामा सबैभन्दा कम सेनेटरी प्याड खरिद गरेको वान्नीगढी जयगढ गाउँपालिले १९ हजार २६ थान सेनेटरी प्याड खरिदमा ५ लाख ४८ हजार ४ सय खर्च गरेको छ । 

पन्चदेवल विनायक नगरपालिकाले २२ हजार थान सेनेटरी प्याड खरिदमा २० लाख १ हजार २ सय,  रामारोशन गाउँपालिकाले १९ हजार ९ सय ५८ थान सेनेटरी प्याड खरिदमा १८ लाख ७१ हजार ८ सय खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।

कमलबजार नगरपालिकाले २५ हजार १ सय ४६ थान सेनेटरी प्याड खरिदमा १६ लाख ४८ हजार, चौरपाटी गाउँपालिकाले १५ हजार सेनेटरी प्याड खरिदमा १४ लाख ९८ हजार, तुर्माखाँद गाउँपालिकाले १८ हजार ५ सय सेनेटरी प्याड खरिदमा १२ लाख ९६ हजार खर्च गरेका छन् ।

ढकारी गाउँपालिकाले २० हजार ९ सय ९५ थान सेनेटरी प्याड खरिदमा ११ लाख ८० हजार, साँफेबगर नगरपालिकाले ८ हजार थान सेनेटरी प्याड खरिदमा ७ लाख ९९ हजार र मेल्लेख गाउँपालिकाले ७ हजार ३ सय ३४ थान सेनेटरी प्याड खरिदमा ४ लाख  ९९ हजार खर्च गरेको  छ । 

महालेखा परीक्षकको प्रतिवेदनमा कोभिड प्रकोपको कारण विद्यालय पूर्ण रुपमा सञ्चालन हुन नसकेको र अर्कोतर्फ प्रत्येक वर्ष प्याड खरिद गरी मौज्दात राख्नाले नेपाल सरकारको उद्देश्य पुरा नभएको लेखिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ मा कुनै पनि योजनाको लागि छुट्याएको रकम टुक्र्याएर खरिद नगर्न भनिएको छ, कतिपय स्थानीय तहले सोको समेत उल्लङ्घन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई निः शुल्क सेनेटरी प्याड व्यवस्थापन कार्यक्रम अन्तर्गत कार्यविधिमा उल्लिखित प्रक्रिया अनुसार वार्षिक १० महिना अवधिका लागि निः शुल्क सेनेटरी प्याडको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button