तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जलाई हरित शहर बनाउने अभियानको उद्घाटन

वीरगञ्ज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले आज एक कार्यक्रमबिच वीरगन्जलाई हरित शहर बनाउने अभियानको उद्घाटन गर्नुभएको छ ।

वीरगञ्जको बाइपास सडकखण्ड स्थित भानुचोकमा वृक्षारोपण गरेर मन्त्री यादवले अभियानको थालनी गर्नुभएको हो ।

उहाँले वातावरण संरक्षणका लागि बोटबिरुवाको अपरिहार्यता रहेकाले खाली स्थानका साथै सडक पेटी तथा डिभाइडर क्षेत्रमा वृक्षारोपण गरेर मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जलाई हरियाली शहर बनाइने कुरामा जोड दिनुभयो ।

वन तथा वातावरण मन्त्री यादवले आजबाट सुरु भएको वृक्षारोपण कार्यलाई अभियानकै रुपमा अघि बढाउन सुझाव दिँदै त्यसका लागि वन तथा वातावरण मन्त्रालयले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जको भानु चोकदेखि घण्टाघरसम्म र बाइपास सडकको गण्डकदेखि रजत जयन्ती चोकसम्मकै डिभाइडरमा वृक्षारोपण गरिने बताउनुभयो ।

बाइपास सडक र लिङ्क रोडबाट सुरु गरिएको यो अभियान महानगरका ३२ वटै वडामा लैजाने बताउँदै नगर प्रमुख सिंहले रोपिएका बिरुवा हुर्काउन स्थानीयको सहयोगको आवश्यकता रहने कुरामा जोड दिनुभयो ।

आयोजित वृक्षारोपण कार्यक्रममा गुल्मोर, म्यागो स्टिक, अशोक लगायतका बिरुवा रोपिएको थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button