तपाईँ सुन्दै हुनुहुन्छः

तमोर कोरिडोर सडकमुनि एक पुरुष मृत अवस्थामा फेला 

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित तमोर कोरिडोर सडकमुनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पाँचथरको, फिदिम अस्पताल चोकमा होटल सञ्चालन गर्दै आएका कुम्मायक घर भएका नरेन्द्र चापागाईँ तमोर कोरिडोर सडक अन्तर्गत हिलिहाङ–७ को खाल्ले खोला छेउ भीरमा आज मृत फेला परेका हुन् । 

चापागाईँ सडकभन्दा करिब १ सय मिटर तल घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

चापागाईँको मोटरसाइकल सडकको छेउमा लडेको अवस्थामा फेला परेको छ । लडेको मोटरसाइकल उठाउने क्रममा सडकबाट झरेर चापागाईँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रनाउ थापाले बताउनुभयो ।

लडेको मोटरसाइकल र मोटरसाइकलको साँचो करिब २० फिटको फरकमा फेला परेकाले घटना शङ्कास्पद देखिएको छ । 

चापागाईँ हिलिहाङ–१ भालु चोकबाट कोरिडोरको बाटो हुँदा बिहीबार साँझ फिदिम हिँडेका गएका थिए । उनीसँगै भालु चोकबाट फिदिम गएका साथीहरू फिदिम पुग्दा पनि चापागाईँ बेलुकी घर आई नपुगेपछि बिहानबाट खोजी गरिएको थियो । खोजीका क्रममा उनको मोटरसाइकल सडकको छेउमा पल्टिएको अवस्था फेला परेको थियो भने चापागाईँ सडकमुनि मृत अवस्थामा फेला परेका थिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button