तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्र सफा राख्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गर्नुभएको छ ।

पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी उहाँले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । 

पुनःनिर्माण भइरहेका सम्पदा स्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन पछि त्यहाँको  सरसफाइमा ध्यान दिन र  भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो ।

अवलोकनका क्रममा मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूप मन्दिर पुनः निर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभयो । 

सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको पशुपति क्षेत्र खुला सङ्ग्रहालयका रूपमा रहेको बताउँदै मन्त्री श्रेष्ठले  सुरक्षा, संरक्षण सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।

घाट व्यवस्थापन, पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो । 

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेको र त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

उहाँले कोषका अन्य गतिविधिका बारेमा पनि मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button