बाजुराको सेलाघाटमा बाढी, तीन परिवार विस्थापित : सिङ्गो बस्ती नै जोखिममा

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ९ सेलाघाटको सिङ्गो बस्ती बाढीका कारण जोखिममा परेको छ ।
शुक्रबार रातीको वर्षाका कारण स्थानीय बिउरा खहरे खोलामा आएको बाढीले सेलाघाट बस्ती नै जोखिममा परेको हो ।
सेलाघाट बाजुरा जिल्ला सदरमुकाम मार्तडीसँगै रहेको वडा हो । अहिलेसम्म बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दिपक बिष्टको घरमा क्षति पुगेको छ । अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय निशान्त बडूवालले बताउनु भयो। बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन् । सयौँ मुरी फल्ने खेतमा लगाएको धानबालीमा समेत क्षति पुगेको छ । भने सिङ्गो खेत बगरमा परिणत भएको छ । बाढी राती करिब १ बजेतिर आएको हो । बाढी आएको थाहा पाएपछि स्थानीय राती नै घरबाट अन्यत्र सरेका थिए ।

खहरे खोलाको बाढीकै कारण साँफे मार्तडी सडक पनि अवरुद्ध भएको छ।बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ । तलबाट नदीको कटान र माथिबाट बाढी आउन थालेपछि स्थानीयले सेलाघाट बस्तीलाई नै सार्नुपर्ने माग गरेका छन् । अहिले सबै परिवार सुरक्षित रहेको र अन्यत्र बासका लागि प्रबन्धक गर्नु पर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाढी आएको जानकारी पाएपछि बडीमालिका नगरपालिकाको जनप्रतिनिधि टोली निरीक्षणका लागि सेलाघाट पुगेको छ।








प्रतिक्रिया राख्नुहोस्