तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आयोगको आह्वान

file photo

काठमाडौँ। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा बिहीबारसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई यही साउन २२ गतदेखि ३१ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने सह प्रवक्ता अर्यालले बताउनुभयो ।

आयोगका अनुसार दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने छ । 

निवेदनको ढाँचा आयोगको वेब–साइटबाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button