तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी र वर्षासँगै सर्पदंशका घटनामा वृद्धि

जनकपुरधाम । बढ्दो गर्मी र वर्षाका कारण मधेश प्रदेशका जिल्लामा सर्प दंशको घटनामा वृद्धि भएको छ ।

वर्षाको पानीले सर्प बस्ने दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्प दंशको घटनाको वृद्धि भएको हो । प्रादेशिक अस्पताल जनकपुरधाममा दैनिक रुपमा ६ देखि १० जनासम्म सर्पदंशका बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सी शाखाका चिकित्सक डा. मुकेश यादवले सर्पदंशका बिरामी औषत रुपमा ६ जनासम्म उपचारको लागि आउने गरेका जानकारी दिनुभयो ।

गत असार महिनामा १ सय ५० जना सर्पदंशका बिरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । यसका साथै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली सेनाको सहयोगमा नगरपालिकाले सञ्चालन गरेको सर्पदंश अस्पतालमा पनि उपचारका लागि जाने गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश सर्पदंशका बिरामी निको भई घर फर्किने गरेको भए पनि धामी झाँक्रीकहाँ झारफुकको लागि जाने र निको नभएपछि आउनेलाई बचाउन कठिन हुने गरेको चिकित्सकहरूको भनाइ छ ।

नेपाल सरकारले सर्पदंशका बिरामीहरूका लागि निःशुल्क स्नेक भेनम लगाउनुका साथै अन्य उपचार गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button