तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार सिंहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग 

सप्तरी । प्रेस मञ्च सप्तरीद्वारा मञ्चका कार्यसमिति सदस्य भूषण कुमार सिंहलाई समाचार सङ्कलन गर्ने क्रममा दुर्व्यवहार गर्दै मोबाइल खोस्ने प्रहरीमाथि कारबाहीको माग गरेको छ । 

प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सिंहमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग गरेको हो । 

सञ्चारकर्मीले कुनै पनि सार्वजनिक ठाउँमा भइरहेको कुनै घटनाको समाचार सङ्कलन गर्ने स्वतन्त्र अधिकार हुँदा हुँदै प्रहरीको हस्तक्षेप गर्नु सम्पुर्ण प्रेस जगतमाथि नै ज्यादती गरेको भन्दै प्रेस मञ्च नेपालले घटनाको घोर निन्दा गरेको छ । यस्ता कार्य दुखद रहेकोले दोषी प्रहरीलाई हदैसम्मको कारबाही गर्नुपर्छ, मञ्चद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ , आउने दिनमा यस्ता घटना हुन नदिन प्रहरी प्रशासनसँग आग्रह गर्दछौँ साथै यस्ता घटना पुनः दोहरिएमा कडा सङ्घर्ष गर्ने जानकारी गराउँछौ ।  

मञ्चका अध्यक्ष तामाङले जारी गरेको विज्ञप्तिमा पत्रकार सिंहले राजविराज स्थित बजाज शोरुम अगाडि भइरहेको झगडाको फोटो खिच्दा प्रहरीले दुर्व्यवहार गर्दै मोबाइल खोसेको घटनाको कडा शब्दमा भर्त्सना गर्दै संलग्न प्रहरीमाथि कारबाही नभए आन्दोलनमा उत्रनु बाध्य हुने चेतावनी समेत दिएको छ । प्रहरीले सार्वजनिक ठाउँमा सञ्चारकर्मीहरूले समाचार सङ्कलन गर्ने कार्यमा अवरोध गर्नु प्रेस स्वतन्त्रता कुण्ठित गरेको  हाम्रो ठहर छ, प्रेस मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ,पत्रकारलाई प्रहरीले हेर्ने मनसाय ठिक नभएकोले यस्ता व्यवहार नसच्चाइए कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौ । 

प्रहरी प्रशासनबाट पत्रकारहरूमाथि हुने दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घलाई गम्भीर हुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ । प्रहरी प्रशासनबाट पटक पटक पत्रकारहरूमाथि भएको दुर्व्यवहारप्रति गम्भीर हुन महासङ्घको ध्यानाकर्षण गराउन चाहन्छौँ प्रेस मञ्च सप्तरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।  

गत साउन १७ गते मङ्गलवार राजविराजस्थित बजाज मोटर साइकल शोरुम अगाडि भइरहेको झगडाको फोटो खिच्ने क्रममा प्रहरीले किन फोटो खिचेको भन्दै पत्रकार सिंहको मोबाइल खोसेर लगेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button