कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
भारतको नयाँ दिल्ली पुग्नुभएका नेता निधिले भारतीय जनता पार्टीको कार्यालयमा नयाँ दिल्लीमा आज बिहान चौथाइवालेसँग भेटवार्ता गर्नुभएको हो । भेटमा दुई देश तथा नेपाली कांग्रेस र भारतीय जनता पार्टीबिचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायत विषयमा छलफल भएको नेता निधिका प्रेस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।
भेटमा पूर्व उपप्रधानमन्त्री निधिले राम जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धिमूलक भएको बताउनुभएको थियो ।
नेता निधिले दुई देशबिच रहेको आदि कालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्त्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्