आर्थिक अभावको चपेटामा ‘चितवन मनकामना मन्दिर’

चितवन । निर्माण शुरु भएको झण्डै सात बर्ष बितिसक्यो । शुरुमा मनकामना मन्दिर निर्माण सम्पन्न गरिए पनि पछिल्ला वर्षहरूमा मुक्तिनाथ मन्दिर, शिव मन्दिर, हनुमान बुद्ध र गणेशको मूर्ति लगायत १०८ धारा, १०८ शिवलिंग, बुढानीलकण्ठ मूर्ति, जलकुण्ड, वधशाला, १००८ शालिग्राम लगायत हाल भक्तजनको आराम र आश्रमको लागि भवन निर्माण गरिँदै छ ।
मन्दिरमा सबैजसो संरचना काठमाडौँ, ललितपुर र भक्तपुरका मन्दिरमा प्रयोग भएको सामग्रीहरु रहेका छन् । भने मनकामनाको मूर्तिलाई प्राण प्रतिष्ठा गरि यहाँ ल्याइएको हो । तर यो मन्दिर पछिल्ला दिनहरूमा आर्थिक अभावको चपेटामा छ । बनाउन लागिएका संरचना पुरा हुन सकेका छैनन् । कारण एकातिर आन्तरिक र अन्य स्रोत छैन अर्कातिर भक्तजन र ज्येष्ठ नागरिकको लागि बनाउन लागिएको आश्रम र आराम गर्ने स्थल अलपत्र जस्तै छ ।

त्यसैले सबै देवीदेवताका मन्दिर र मूर्तिसहित निर्माण गरिएको चितवनको मनकामना मन्दिर अहिले ओझेलमा पर्दै गएको छ । ‘सबै देवी देवताको मन्दिर र मूर्ति सहित मन्दिरहरू निर्माण गरियो । तर दर्शनार्थीको चाप बढ्न सकेन ।’ मन्दिरका संरक्षक राजेश खयरगोली चिन्ता गर्नुहुन्छ ।’ आफ्नो बाबु र परिवारका सदस्यहरूको सल्लाहमा निजी जग्गामा मन्दिर निर्माण गरेपनि प्रचारप्रसारको अभावमा चितवनवासीले नै देख्न नपाएको खयरगोलीले बताउनुभयो । ‘२ बर्ष जति कोभिडले नै काम गर्न दिएन, अहिले थप संरचना बनाउन आर्थिक अभावले दिएन ।’ उहाँले भन्नुभयो ।
आफ्नो निजी झण्डै ४ कठ्ठा क्षेत्रफलमा मनकामना मन्दिर आफ्नै लगानीमा निर्माण सम्पन्न गरिए पनि अन्य मन्दिर, मूर्ति र संरचनाहरू सरकार र दाताहरूको पनि सहयोगमा बनेको हो । ‘प्रदेश सरकारको २० लाख र भरतपुर महानगरको ५ लाख मात्र सहयोग आएको हो । अन्य दाताको पनि केही सहयोग गर्नुभएको छ, उहाँले भन्नुभयो, हालसम्म डेढ करोड बढी खर्च भइसक्यो, थप संरचना पुरा गर्न थप १ करोड लाग्छ ।’

चितवन जल, जमिन र जङ्गलमा आधारित पर्यटनले चिनिँदै आएपनि देवघाटधाम, मनकामना मन्दिर, कृष्ण मन्दिर, गणेशधाम निर्माणले यो जिल्ला धार्मिक पर्यटकको रुपमा स्थापित हुनुपर्ने उहाँको तर्क छ । अलग्गै रुपमा सबै मन्दिर जान नपरोस् र दर्शनार्थीलाई सहज होस भन्ने उद्देश्यले आफूले सबै दर्शनार्थीको आस्था र विश्वास अनुसार मन्दिरहरू निर्माण गरिएको उहाँले बताउनुभयो ।
मनकामना मन्दिरमा दैनिक नित्य पूजा हुँदै आएको छ । यहाँ पुजारी, सहयोगी र हेरालु सहित पाँच जना हुनुहुन्छ । ‘यहाँ दैनिक गोर्खाको मनकामना जस्तै बिहान पुर्जा अर्चना, दमाहा, भजन लगाइन्छ बेलुका आरती हुन्छ । पशुबध पनि हुन्छ ’उहाँले भन्नुभयो । मन्दिर आकर्षक, कलात्मक र यहाँ आवतजावत गर्न सहज भएपनि अपेक्षा अनुसार दर्शक नआएको बताउनुहुन्छ, मन्दिरका पुजारी वीर बहादुर आलेमगर । ‘मन्दिरमा फाट्टफुट्ट चितवन, काठमाडौँ, बुटवल, हेटौँडाबाट भक्तजन त आउनु भएको छ । भाकल पनि पुरा भएको छ भन्नुहुन्छ तर अपेक्षा अनुसार भीड छैन ।’ आले मगरले भन्नुभयो ।

यो मन्दिरको प्रचारप्रसार हुन सके चितवनकै नमुना धार्मिक पर्यटकीय गन्तव्यको विकास गर्न सकिने पुजारी आले मगरको आशा छ । भरतपुरको चौबीस कोठीबाट १७ किलोमिटर र नारायणगढको पुलचोकबाट १३ किलोमिटर पश्चिम चितवनमा यो मन्दिर अवस्थित छ । चितवन भारतको सिमानाबाट नजिक पर्ने भएकोले पनि भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संरक्षक खयरगोलीको भनाई छ । ‘एक त यो भारतको सिमानाबाट पनि नजिक छ, अर्को कुरा नारायणी नदी र मदनभण्डारी पार्क पनि नजिकै छ । ’उहाँले भन्नुभयो । सम्भावना नै सम्भावना भएरपनि आर्थिक अभाव र प्रचारप्रसारको अभावमा यो मन्दिर ओझेलमा परेको उहाँले बताउनुभयो ।
यो मन्दिर हाल समुदायलाई हस्तान्तरण गरिसकिएको र आन्तरिक श्रोतले नै चलिरहेको छ । आगामी दिनमा दर्शनार्थीको लागि आवास सहितको व्यवस्था, ज्येष्ठ नागरिकको लागि प्रवचन भवन र दुई सय किलोको घण्टा ल्याउने योजना रहेको उहाँको योजना छ । ‘मेरो सोच त शाश्वतधाम बनाउने छ नि , अहिले रकम अभाव पनि छ, दाता र दर्शनार्थीको पनि अभाव छ ।’ उहाँले भन्नुभयो ।

मन्दिरको आम्दानी बढ्दै गएमा भोलिका दिनमा यहाँको आम्दानी समुदायका लागि खर्च गरिने खयरगोलीको भनाई छ । ‘मैले ईश्वरीय धर्म र मानवीय धर्मलाई जोड्न खोजेको हुँ, यो एक अर्कामा परिपूरक पनि छ । अबको समयमा आवश्यक पनि छ ।’ उहाँले भन्नुभयो ।
‘खयरगोली र दाताहरूको सहयोग बाट स्थापना गरिएको यस्ता धार्मिक धरोहरलाई संरक्षण गरी प्रचारप्रसार गर्नु राज्यको पनि दायित्व हुन आउँदैन र ?’








प्रतिक्रिया राख्नुहोस्