तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका ७ सय ५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन् 

बैतडी । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७ सय ५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । 

निर्वाचनमा भाग लिएका १ हजार ४ सय ७६ उम्मेदवार मध्ये २ सय ८४ जनाको धरौटी जफत भएपनि १हजार १ सय ९२ ले विवरण बुझाउनु पर्नेमा ४ सय ४२ जनाले मात्रै विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवार भएका व्यक्तिले खर्चको विवरण बुझाउनुपर्ने भएपनि ७ सय ५० जनाले नबुझाएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिनुभयो । 

सबै उम्मेदवारहरूलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुझाउन ताकेता गर्दा नबुझाएपछि प्राप्त विवरण निर्वाचन आयोगमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

विवरण नबुझाउने उम्मेदवारको नामावली आयोगमा पठाइएकोले आयोगको निर्देशनअनुसार कारबाही हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 

बैतडीमा ४ नगरपालिका तथा ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् । 

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख–उपप्रमुखले चार लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले तीन लाख ५० हजार खर्च गर्न पाउने गरी खर्च सीमा तोकेको थियो । 

त्यसैगरी, नगरपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा २ लाख रुपैयाँ खर्च गर्न पाउने र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button