नेपाल र बङ्गलादेशबिचको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग बराबरी खेलेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मङ्गलवार भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
खेलमा सुरुआती अग्रता बङ्गलादेशले बनाएको थियो । खेलको ६३ औँ मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बङ्गलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६८ औँ मिनेटमा निरञ्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसअघि दुवै १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशका सहिदुल इस्लामले रातो कार्ड पाए । यस्तै नेपालका दिपेश गुरुङले रातो कार्ड पाएका थिए ।
नेपालका बेन्चका खेलाडी रोहित सुब्बाले समेत रातो कार्ड पाएका थिए । खेलको क्रममा झगडामा उत्रिएपछि उनीहरूले रातो कार्ड पाएका हुन् ।
यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले ४ खेलमा ७ अङ्क जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । बङ्गलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।
अपराजित रहेको बङ्गलादेशले ४ खेलमा १० अङ्क जोडेको छ । बङ्गलादेश शीर्ष स्थानमा रहेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्स बीचको खेलको नतिजा कुर्नुपर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार बेहोरेमा नेपाल फाइनल पुग्नेछ ।








प्रतिक्रिया राख्नुहोस्