चितवनमा भाइरल ज्वरोका बिरामी बढ्न थाले
चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।
उपचारका लागि आएका बिरामीमा सामान्य समय भन्दा १५ देखि २० प्रतिशत भाइरल ज्वरोका बिरामी वृद्धि भएको चिकित्सकहरूले बताउनुभएको छ ।

भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ देखि २० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् । अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारीले मौसममा आएको परिवर्तनसँगै सामान्य ज्वरो, रुघा, खोकी देखिएर आउने बिरामीको सङ्ख्या बढी रहेको बताउनुभयो ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले कोभिडको जस्तो लक्षण देखिएका बिरामीको सङ्ख्या पनि वृद्धि भएको बताउनुभयो ।
ज्वरोका बिरामी बढ्दै गएपछि चिकित्सकहरूले डेंगु, कोरोना, स्क्रफ टाइफस लगायतका रोगको परिक्षण समेत गर्ने गरेका छन् ।
डाक्टर पौडेलका अनुसार आएका बिरामीहरू मध्ये डेंगु, कोरोनाका बिरामी भेटिएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिन्छ ।
भाइरल ज्वरोबाट बच्न चिसो खानेकुरा नखाने, रुघा, खोकी लागेका बिरामीको समीपमा नजाने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, साबुन पानीले नियमित हात धुने, पानी तताएर मात्रै खाने, लामखुट्टेको टोकाईबाट जोगिनुपर्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्