तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेश गर्नुभएको शपथसम्बन्धी विधेयक २०७९, स्टाण्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक २०७८ तथा प्रत्यायन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

तीन वटै विधेयक राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त भएका हुन् ।
यस्तै बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक २०७७ टेबुल भएको छ ।
यस अघि बैठकको शून्य समय र विशेष समयमा बेल्दै सांसदहरुले बाढी पहिरो प्रभावितको उद्धार, राहत र पुनः स्थापना तथा खोटाङ केन्द्र भई साउन १५ गते गएको भूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकहरूको दरबन्दी थप गर्न तथा विद्यालयहरूको नियमित अनुगमन गरी विकृति अन्त्यका लागि उपयुक्त कदम चाल्न पनि सांसदहरूले माग गर्नुभयो ।
यस्तै सांसदहरूले भारतले मूल्य घटाएर पठाए अनुसार नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने, पूर्व सहमति विपरीत विप्लव समूहलाई गरिएको पत्राचार फिर्ता लिनुपर्ने, निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रका बासिन्दाको जीउ धन रक्षाका लागि छेकबार लगाउने तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका लागि उपयुक्त कदम चाल्नुपर्ने लगायतका माग गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते आइतबार बिहान ११ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्