तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा पछिल्लो केही दिन यता कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको छ । असारको दोस्रो सातापछि कोरोना सङ्क्रमितको सङ्ख्या मधेश प्रदेशमा बढ्न थालेको हो ।

मधेश प्रदेशका दुई जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भए पनि अन्य जिल्लामा सङ्क्रमितको सङ्ख्या ६५ जना छ । कोरोना संक्रमित नभएका जिल्ला सप्तरी र सिरहा हुन् ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी धनुषा जिल्लामा छन् । धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ रहेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।

महोत्तरीमा ८, रौतहटमा ९, सर्लाहीमा ३, बारा तथा पर्सामा एक/एक जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये १ जना धनुषामा सामान्य उपचाररत रहे पनि अन्य सबै होम आइसोलेसनमा रही उपचार गराइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जेठसम्म मधेश प्रदेशका जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य थियो । अहिले ६५ पुग्नु चिन्ताको विषय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button