‘तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छ’
कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताउनुभएको छ ।

सोमवार तिलौराकोटको अवलोकन गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । भगवान् गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्ष अघिको गणराज्य तिलौराकोट पुरातात्त्विक दृष्टिकोणबाट विश्वकै महत्त्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ ।
तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रक्रिया पुरा गरिने उहाँले बताउनुभयो । तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरबार क्षेत्रको उत्खननका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभएको थियो ।
तिलौराकोट इसा पूर्व छैटौँ शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो । भगवान् गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्ध मार्गीहरूका लागि महत्त्वपूर्ण स्थल मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्