तपाईँ सुन्दै हुनुहुन्छः

अनधिकृत घर टहरा हटाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राष्ट्रिय निकुञ्ज तथा वा आरक्षभित्र निमार्ण भएका भौतिक संरचनाहरू हटाउन आग्रह गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्र जुनसुकै पदार्थको घर, छाप्रो, आश्रय वा अरू आकार बनाउन वा भोग गर्न नपाइने उल्लेख गर्दै निमार्ण भएकाहरू हटाउन तथा निमार्ण नगर्न समेत आग्रह गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, ऐन २०२९ को दफा ५ खण्ड (ख) को कानुनी प्रावधान बमोजिम अधिकार प्राप्त अधिकारीको अनुमति नलिई कुनै पनि व्यक्तिले, यस्तो कार्य गर्ने गराउने व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, ऐन २०२९ को दफा २६,१(क) बमोजिम दश वर्षसम्म कैद वा दश लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकद्वारा जारी सूचनामा उल्लेख छ ।

हाल पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी क्षेत्रमा अनधिकृत रुपमा घर, टहराहरू आदी भौतिक संरचनाहरू बनाएको गुनासो आएकाले राष्ट्रिय निकुञ्जको सरकारी जग्गा/वन क्षेत्रमा बनाइएका घर, टहरा निर्माण नगर्नु नगराउनु हुन र बनाइएका घर टहराहरू जुनसुकै बेला भत्काउने तथा कारबाही समेत हुने सूचनामा उल्लेख छ । सो वन क्षेत्रमा अनधिकृत निर्माणका कारण कुनै समस्या उत्पन्न भएमा व्यक्ति स्वयं जिम्मेवार हुने समेत सूचना मार्फत सूचित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button