तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखनको समस्या सरकारका लागि चुनौती : मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखनको समस्या सरकारका लागि चुनौती भएको बताउनुभएको छ । 

मानव विशेष गरी महिला तथा बालबालिका बेचबिखनलाई रोक्ने, दबाउने, सजाय गर्ने परिपूरक प्रोटोकल पालेर्मो प्रोटोकल अनुमोदनपश्चात्का उत्तरदायित्व विषयमा छलफल गर्न आज संसद् सचिवालयमा बसेको प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री रेग्मीले मानव बेचबिखन गम्भीर अपराध भएकाले सबैको साझा पहलमा मात्रै यस प्रकारको समस्या सधान गर्न सकिनेमा जोड दिनुभयो । 

सरकारले विभिन्न स्वरूपमा हुने गरेको मानव बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्न र पीडितको संरक्षण गर्न मानव बेचबिखन नियमावली २०६४ लाई संशोधन गर्न लागेको मन्त्री रेग्मीले बैठकमा जानकारी गराउनुभयो । 

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भिजिट भिसामा विभिन्न देशमा पुर्‍याइएकाहरूको उद्धार गर्न सरकारलाई समस्या परेको बताउनुभयो । 

त्यसैगरी महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालले पालेर्मो प्रोटोकल अनुमोदन गरिसकेको अवस्थामा मानव बेचबिखन तथा ओसारपसार ऐन, वैदेशिक रोजगारी ऐन, अध्यागमन ऐन, श्रम ऐनलगायत विभिन्न ११ वटा ऐन संशोधन गर्न सरकारलाई सुझाव दिनुभयो । 

बैठकमा चेलीबेटी बेचबिखनविरुद्धको अभियानकर्मी चरीमाया तामाङले महिलाहरू भारतमा मात्रै नभई वैदेशिक रोजगारीका नाममा विश्वका विभिन्न देशमा पुर्‍याइने सङ्ख्या बढेकाले त्यसलाई रोक्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button