तपाईँ सुन्दै हुनुहुन्छः

वडा सचिवको कार्यकक्षमा तालाबन्दी

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ को कार्यालयमा कार्यरत वडा सचिवको कार्यकक्षमा तालाबन्दी गरिएको छ । आज १६ गते सोमबारका दिन कार्यालय समय अगावै अज्ञात समूहले वडा सचिवको कार्यकक्षमा तालाबन्दी गरेको पाइएको छ ।

शनिवारको बिदापछि आइतबारका दिन रानाथारु समुदायको तीज पर्वका अवसरमा नगरपालिकाले स्थानीय सार्वजनिक बिदा दिएकोले साबिक भन्दा बढी सेवाग्राही उपस्थित भए पनि वडा सचिवको कार्यकक्षमै तालाबन्दी गरिँदा स्थानीय सेवाग्राहीहरू मर्कामा परेका छन् ।

पछिल्लो ३ हप्तामा मात्रै पनि उक्त वडा कार्यालयमा ३ पटक तालाबन्दी भइसकेको छ । यसअघि कोभिड राहत र गत कार्तिक महिनामा आएको अकल्पनीय बाढीले धान, तरकारी लगायतका बालीमा पुर्‍याएको क्षतिको राहत नपाएको तथा उक्त राहत प्याकेजमा स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूले मनपरी गरेको आरोप लागेको थियो ।

ताला कसले, किन लगाएको हो भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी हुन नसकेको वडा कार्यालयले जनाएको छ । तेस्रो पटक गरिएको तालाबन्दी सम्बन्धमा थप अनुसन्धान गरिरहेको सुरक्षा निकायले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button