इन्टरनेट नचलेको भन्दै विद्यार्थीद्वारा कम्पनीविरुद्ध मुद्दा दायर
बारा । इन्टरनेट नचलेको भन्दै बाराका एक २२ वर्षीय विद्यार्थीले इन्टरनेट सेवा प्रदायक कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।
वीरगञ्ज महानगरपालिका–३२ घर भई बाराको जीतपुरबाट माध्यमिक तह पढेका विद्यार्थी जितेन्द्र यादवले सि.जी.नेटको केन्द्रीय कार्यालय, काठमाडौँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

हाल काठमाडौँबाट आफ्नो अध्ययन अगाडि बढाइरहेका यादवले विभिन्न कम्पनीको काम इन्टरनेटबाट गर्ने गर्दछन् । विभिन्न तीनवटा कम्पनीका सूचना र त्रैमासिक विवरण अपलोड गर्ने, अद्यावधिक गर्ने जस्ता विभिन्न कामकाज पूर्ण रुपमा ठप्प भएका कारण उक्त कम्पनीहरूले क्षति बेहोर्न बाध्य भएको यादवले दायर गरेको फिराद पत्र (मुद्दा)मा उल्लेख छ ।
मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ बमोजिम इन्टरनेट सेवा प्रदायक कम्पनीले आफूलाई भएको क्षति बापतको रकम बहन गर्नुपर्ने प्रावधान रहेकाले सोही अनुसार १२० घण्टा इन्टरनेट नचलेर आफूलाई २ लाख ७५ हजार २ सय ८३ रुपैयाँको क्षति भएको निवेदकले दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

२०७९ साल असार ३० गते दायर गरिएको फिराद पत्रमा उक्त रकम क्षतिपूर्ति बापत इन्टरनेट सेवा प्रदायक कम्पनीसँग माग गरिएको छ । यादवले दायर गरेको मुद्दा जिल्ला अदालत काठमाडौँमा अहिले चलिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्