घरमा उत्पादित छुर्पी अमेरिकासम्म बिक्री हुँदै

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका– ६ मजुवाका युवाराज थापाले छुर्पी उत्पादन गर्न थाल्नुभएको झण्डै पाँच महिना भयो ।
यसअघि आफूले उत्पादन गरेको दूध सिंधुवा बजारसम्म ल्याएर बेच्दै आउनुभएका थापाले करिब पाँच लाख लगानीमा गत फागुन महिनादेखि घरमै छुर्पी बनाएर बेच्न थाल्नुभएको हो ।
उहाँले आफ्नो मात्र नभई त्यस स्थानका ४० घरपरिवार किसानले उत्पादन गरेको दूध समेत लिएर छुर्पी बनाउने गर्नुभएको छ । यसरी आफूले घरमै छुर्पी बनाउन थालेपछि आफु र अन्य नजिकका किसानहरूलाई समेत सहज भएको थापाको भनाई छ ।
दैनिक पाँच सय लिटर दूधबाट छुर्पी बनाउँदै आउनुभएका उहाँले प्रति किलो १ हजार १ सय रुपैयाँका दरले विक्री गर्दै आउनुभएको छ । यसरी नजिकमै छुर्पी उत्पादन हुन थालेपछि एकातर्फ दैनिक दूध बोकेर बजार धाउनुपर्ने बाध्यता हटेको छ भने होलिडेको समस्या समेत समाधान भएको स्थानीयको भनाई छ ।

फ्याट विनाको छुर्पी कुकुरले खाने उत्पादन गर्दै आउनुभएका थापाले आफ्नो उत्पादन अमेरिकासम्म जाने गरेको बताउँदै हाल बजारको खास समस्या नरहेको बताउनुभयो ।
आम्दानी पनि दूध बेच्दा र छुर्पी बनाउँदा तुलनात्मक हिसाबले छुर्पीबाटै फाइदा हुने गरेको उहाँको भनाई छ । छुर्पी बनाउन थालेपछि उहाँले दुई जनालाई काम समेत दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्