तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण वीरगञ्जको बजार क्षेत्र डुबानमा

वीरगञ्ज । आज साँझ ५ बजेदेखि परेको अविरल वर्षाका कारण वीरगञ्जको मुख्य बजार क्षेत्र डुबानमा परेको छ ।

वीरगञ्ज महानगरपालिकाको आदर्शनगर, मुर्ली चोक, जेलरोड, गणेशमान चोक, रानीघाट, पानीटंकी, भषुवा, लक्ष्मणवा, छपकैया, श्रीपुर लगायतका क्षेत्रमा पानी जमेको कारण सडक तथा आसपासका सयौँ घरमा पानी पसेपछि जनजीवन प्रभावित भएको छ ।

विशेष गरी वीरगञ्जको कलैस चोक अगाडी तथा मुर्ली चोकका पसलमा पानी पसेपछि सामानहरू डुबेको र लाखौँको क्षति भएको व्यवसायीहरूले बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाले नालाको सरसफाइ गरे पनि अझ तीव्र गतिमा काम हुन नसक्दा फोहोरको कारण नाला बन्द भएको र वर्षाको फोहोर पानी निकास हुन नसक्दा नगरको अधिकांश क्षेत्र डुबानमा परेको नगरवासीको गुनासो छ ।

वीरगन्ज महानगरपालिकाको लापरबाहीका कारण ढल नलको फोहोर तथा वर्षाको पानी घरभित्र पसेपछि आफूहरू प्रभावित भएको वीरगञ्ज १६ रेल्वेरोड निवासी लालाबाबु सिंहले बताउनुभयो ।

लामो समयको पर्खाइपछि वर्षा भएका कारण किसानहरू भने हर्षित भएका छन् । प्रचण्ड गर्मी र धूपले आहत भएका तराईका बासिन्दालाई आज साँझ परेको पानीले राहत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button