विराटनगरबाटै सवारी चालक अनुमति पत्र पाइने

विराटनगर । सबै प्रक्रिया पुरा गरेर लिखित तथा मौखिक परीक्षा पास गर्ने चालकहरूले अव विराटनगरबाटै पनि चालक अनुमति पत्र स्मार्ट लाइसेन्स पाउने भएका छन् ।
सुनसरीको इटहरीस्थित यातायात कार्यालयमा लाइसेन्स बनाउनेहरूको चाप अत्यधिक बढेपछि यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ ले विराटनगर–४ स्थित यातायात व्यवस्था सेवा कार्यालय मार्फत स्मार्ट लाइसेन्स दिनेगरि व्यवस्था मिलाएको हो ।
स्मार्ट लाइसेन्सका लागि सो कार्यालयले हिजो साँझदेखि लाइसेन्स अनुमति पत्रका लागि अनलाइन मार्फत आवेदन फारम खुल्ला गरिसकेको छ ।
कार्यालयले सवारी चालक अनुमति पत्रका लागी ट्रायल परीक्षा लिन विराटनगरमा भाडामा लिएर ट्रायल सेन्टर समेत सञ्चालनमा ल्याएको छ ।
पहिलो चरणमा शुरु हुन लागेको परीक्षामा ट्रक, बस तथा ठुला सवारी साधनबाहेक मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान, ट्याक्टर तथा सिटी रिक्सागरि लिखित तथा मौखिक परीक्षा पास गर्ने २ सय १५ वटा सवारी धनीले नयाँ सवारी चालक अनुमति पत्र पाउने व्यवस्था मिलाइको कार्यालय प्रमुख अनमाेलमणी भट्टराईले बताउनुभयो । प्रत्येक हप्ता लाइसेन्सका लागि परीक्षा लिइने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
आवेदन दिएपछि छनौटमा परेकाहरूले आइतबार खार्जीस्थित कार्यालयमा आउने फर्म भर्ने फोटो खिचाउने, सोमवार लिखित परीक्षा दिने र बुधवार ट्रायल दिने व्यवस्था मिलाइको छ ।
सो कार्यालयमा अहिले १२ जना कर्मचारी मात्र कार्यरत छन् । लाइसेन्स दिन शुरु गरेसँगै कर्मचारी अपुग हुने निश्चित छ । यस्तो अवस्थामा दिनरात खटेर भएपनि आफूहरू सेवा दिन तत्पर रहेको कार्यालय प्रमुखको भनाई छ ।
लामो समयपछि विराटनगरबाट परीक्षा दिएर लाइसेन्स पाउने भएपछि ठुलो राहत भएको सवारी चालकहरू बताउँछन् । कार्यालय प्रमुख भट्टराई ले पनि आफ्नो कार्यकालमा कार्यालयबाट लाइसेन्स सेवा सञ्चालन गर्न पाउँदा खुशि लागेको र यसलाई थप व्यवस्थित र सहज बनाउँदै जाने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्