तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणका अवैध सामग्री बरामद

नेपालगन्ज  । सशस्त्र प्रहरीले बाँकेको नेपालगन्जस्थित सीमा नाकाबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणका अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक गणेश खत्रीको कमाण्डमा गएको टोलीले  नेपालगन्ज १५ पिप्रहवाबाट पौने ३ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।

तस्करीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको सशस्त्र प्रहरीको टोलीले भन्सार छली गरेर ल्याउँदै गरिएको ठूलो परिमाणमा कपडा बरामद गरेको छ भने सोही टोलीले पिप्रहवा नजिकैबाट भारत लैजाँदै गरिएको ठूलो परिमाणमा धुलो सुपारी समेत बरामद गरेको हो ।

त्यस्तै बरामद गरिएका अन्य अवैध सामग्रीहरूमा किराना सामाग्री, प्लास्टिकका भाँडा, झ्याल(ढोकामा लगाउने कब्जा, खाद्यान्न, चिनी, महिलाले प्रयोग गर्ने ठूलो परिमाणको कपडा लगायत रहेका छन् ।

बरामद गरिएका सबै २ लाख ७० हजार १५० रुपैयाँ बराबरका अवैध बस्तु तथा सामग्रीलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । 

बाँकेको सीमा नाकामा अवैध तस्करीविरुद्ध  कडाइका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले निर्देशन दिएको बताउनुभयो । सशस्त्र प्रहरीले बाँकेका सबै नाकामा अवैध ओसारपसारविरुद्धको अभियानमा लाग्दै दैनिक लाखौँ रुपैयाँको सामग्री बरामद गर्दै आएको बस्नेतले बताउनुभयो । 

सशस्त्र प्रहरीले सीमा नाकामा हुने अवैध गतिविधिलाई समेत निगरानी  बढाउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button