स्थानीय सरकारलाई भ्रष्टाचारको मुद्दैमुद्दा

तनहुँ । जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय सरकारले मान्यता पाएको ६ बर्ष बढी भयो । नागरिकले न्याय महसुस हुने गर कार्यसम्पादन गर्नुपर्ने पालिकाहरूले न्याय सङ्गत काम गर्न नसकेको पाइन्छ ।
नियम प्रतिकुल काम गरेकै कारण अहिले अख्तियार दुरुपयोग आयोगमा सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा स्थानीय तहसँग सम्बन्धित रहेको छ । आयोगले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा तनहुँका १३७ वटा मुद्दा अख्तियारमा दायर भएका छन् ।
आयोग पोखराका कार्यालयमा कास्कीपछि सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा दर्ता भएको जिल्ला तनहुँ हो । आयोगका सूचना अधिकारी राजु कुँवरले तनहुँका स्थानीय तहमा भएको अनियमितताको मुद्दामात्र ८२ वटा रहेको जानकारी दिनुभयो । सूचना अधिकारी कुँवरले जिल्लाका जम्मा १३७ मुद्दा मध्ये ८२ वटा स्थानीय तहको मात्र हुनु अस्वाभाविक रहेको बताउनुभयो ।
उहाँका अनुसार पालिकाहरूले विकास निर्माण गर्दा प्राविधिकसँग मिलेर रकम हिनामिना गर्ने, सार्वजनिक खरिदका क्रममा अनियमितता गर्ने, प्रक्रिया मिचेर कर्मचारी सरुवा तथा बढुवा गर्ने लगायतका विषयमा बढी मुद्दा पर्ने गरेका छन् । यस्तै सार्वजनिक जग्गा अतिक्रमण गर्ने, सरकारी बजेटमा संरचना निर्माण गर्दा आर्थिक अपचलन गर्ने र योग्यता नभएकालाई नियुक्ति दिने जस्ता क्रियाकलाप स्थानीय सरकारले गरिरहेको छ ।
आयोगले स्थानीय तहमा संघीय मामिला मन्त्रालयसँग सम्बन्धी ५५ उजुरी मध्ये ३२ उजुरी फर्छ्यौट गरि २३ वटा बाँकी रहेको जनाएको छ । यस्तै स्थानीय तहमा नै शिक्षा मन्त्रालयसँग सम्बन्धित २७ मुद्दा परेकोमा १७ वटा मुद्दा फर्छ्यौट गरेर १० वटा बाँकी रहेको छ ।
आयोगमा बन तथा वातावरण मन्त्रालयको ९, खानेपानी सम्बन्धी ५, प्रदेश तर्फ भौतिक पूर्वाधार तथा यातायातको ३, भूमि व्यवस्था तथा गरिबी निवारणको ८, सामाजिक विकासको ४, शिक्षा विज्ञान तथा प्रविधिको ८, भौतिक पूर्वाधार तथा यातायातको ३, स्वास्थ्यको १ र अन्यको १४ गरी १३७ उजुरी अख्तियारमा छ । आयोग पोखराका अनुसार गत आर्थिक वर्षमा ७९ मुद्दा फर्छ्यौट गरि चालु आर्थिक वर्षमा ५८ मुद्दा फर्छ्यौट गरिने छ ।
आयोगमा कास्कीको ४५७, पर्वतको ११५, स्याङ्जाको १०७, बागलुङको ८९, गोरखाको ७९, म्याग्दीको ६५, लमजुङको ४६ र मुस्ताङको १० मुद्दा परेका थिए । कुल एक हजार ११८ मुद्दामध्ये ७०८ फर्छ्यौट भएको छ भने ४१२ वटा मुद्दा चालु आर्थिक वर्षका लागि बाँकी रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्