नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने

सोलुखुम्बु । खुम्बुको नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिँडडुल गर्न नपाउने भएको छ ।
गाइड तथा साथी विना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिँडडुल गर्नमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने भएकाले नाम्चे प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिनुभयो ।
यसका लागि प्रहरीको नाम्चे चेक पोष्टलाई सोही अनुसार चेकजाँचमा कडाइ गर्न निर्देशन गरिएको प्रनाउ शाहले बताउनुभयो ।

उक्त निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउन आफूले मन्त्रालयमा पनि परिपत्र गरिसकेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनुभयो ।
यसअघि बर्सेनि खुम्बु क्षेत्रमा आएका बिदेसी पर्यटकहरू हराउने गरेका छन् ।
खुम्बु क्षेत्रमा केही महिना अघि मात्रै एक्ला एक्लै भ्रमणमा आएका एक भारतीय र एक कोरियन नागरिक बेपत्ता भएका छन् ।
उनीहरूको खोजी कार्य जारी भएपनि हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्