तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइको प्रदेश स्तरीय चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठी आज सम्पन्न भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मोरङको आयोजनामा सुनसरीको तरहरा स्थित कृषि अनुसन्धान निर्देशनालयमा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रदेश नम्बर एकका १० जिल्लाका परियोजना कार्यान्वयन इकाई कार्यालयहरूले गत आर्थिक वर्षमा भएको आ–आफ्नो कार्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गोष्ठीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रामवलम साहले परियोजनाले गत आर्थिक वर्ष ८४ प्रतिशत वित्तीय प्रगति र ८९ प्रतिशत भौतिक प्रगति हासिल गरेको जानकारी गराउनुभयो । परियोजना सञ्चालन भएका जिल्लामा यान्त्रीकरणतर्फ किसानमा आकर्षण बढेको र प्रविधिको विकास भएको परियोजनाको दाबी छ ।

कृषि मन्त्रालय प्रदेश न १ का सचिव मेघनाथ तिम्सिनाले कृषि प्रविधिको विकास, किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य, चक्लाबन्दी खेतीको विस्तार तथा यान्त्रीकरणमा परियोजनाले थप जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले परियोजनाका कारण जिल्लामा माछा, धान तथा तरकारी खेतीमा किसानको आकर्षण बढेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केन्द्रिय कार्यालयका उपसचिव जितबहादुर चन्द परियोजना देशभरि नै प्रभावकारी भएको बताउनुभयो ।

गोष्ठीमा कृषि यान्त्रीकरण, उन्नत प्रविधिको प्रयोग, उत्पादन लागत घटाउने, विषादी प्रयोगमा न्युनिकरण जस्ता विषयमा छलफल भएको परियोजना कार्यान्वयन इकाई प्रमुख रामवलम साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button