बुटवलमा यसरी घटाइयो करका दर
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले करका दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार सम्पत्ति, घर बहाल, ई रिक्सा, हाटबजार बैठकी कर लगायतमा दर घटाइएको छ । यी करका दर यही साउन १ गतेदेखि लागू भएका छन् ।

सम्पत्ति र घर बहाल कर १० प्रतिशतले घटेको छ । यसअघि १० हजार रुपैयाँ घर बहाल लिनेले १ हजार रुपैयाँ घर बहाल कर तिर्नुपर्नेमा अब ९ सय रुपैयाँ तिरे पुग्नेछ ।
सम्पत्ति कर सम्पत्तिको मूल्य अनुसार १ सय रुपैयाँदेखि ४९ हजार ५ सय रुपैयाँसम्म कायम गरिएको छ । ५ लाख रुपैयाँसम्म करयोग्य सम्पत्ति भएमा १ सय रुपैयाँ र ५ लाखदेखि माथि भएमा प्रतिहजारको २ रुपैयाँका दरले सम्पत्ति कर तिर्नुपर्ने छ ।
यस्तै, ई रिक्सा व्यवसायीले यसअघि रुट परमिट र नवीकरणबापत ५ सयका दरले १ हजार रुपैयाँ तिर्दै आएकोमा चालु आर्थिक वर्षमा ३ सयका दरले ६ सय रुपैयाँ बुझाउनुपर्ने बुटवल उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख दामोदर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको मङ्सिरदेखि लागू हुने गरी हाटबजार बैठकी कर १० देखि १८ प्रतिशतसम्म घटेको छ ।
यसअघि रेडिमेड कपडा पसलले हाटबजार बैठकी करबापत १३० रुपैयाँ तिर्दै आएकोमा मङ्सिरदेखि १ सय १५ रुपैयाँ र १ सय रुपैयाँ तिर्ने तरकारी पसलले ९० रुपैयाँ तिरे पुग्ने उहाँले बताउनुभयो ।
यस्तै, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसाय करमा १० प्रतिशत छुट भएको छ ।
यस्तै, सडक विस्तारका कारण व्यवसाय सञ्चालनमा कठिनाइ बेहोरेका चौराहादेखि गोलपार्कसम्मका राजमार्ग मोहडा भएका व्यवसायीले ३५ प्रतिशत कर छुट पाउने भएका छन् ।
ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरूमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्याङ्कनमा ७५ प्रतिशत छुट गरिने भएको छ ।
यस्तैगरी, नागरिकता, अपाङ्गता, ज्येष्ठ नागरिक परिचय पत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करका दरमा हेरफेर गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले राजश्व परामर्श समितिको सिफारिस अनुसार चालु आर्थिक वर्षको राजस्व सङ्कलनको प्रक्षेपण गरिएको बताउनुभयो । यसअघि ७१ करोड २५ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा ५३ करोड रुपैयाँ सङ्कलन भएको राजश्व शाखा प्रमुख ज्ञवालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्