युवालाई सूचना प्रविधिमा आकर्षित गराउन सञ्चारमन्त्री कार्कीको आग्रह
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गर्नुभएको छ ।
उहाँले बेथानचोक गाउँपालिका–२ गेल्दुङ्स्थित पार्वती बहुमुखी क्याम्पसको प्रथम भेलामा बदलिँदो परिस्थितिमा सूचना प्रविधिको भविष्य रहेकाले युवालाई यसप्रति आकर्षित गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

“सूचना र प्रविधिको क्षेत्रमा मुलुकको भविष्य छ, यस क्षेत्रमा युवालाई आकर्षित गराउन सके बेरोजगारी समेत अन्त्य हुने देखिएको छ”, सरकारका प्रवक्ता समेत रहनुभएका कार्कीले भन्नुभयो । उहाँले परिवारको गरिबी हटाउन सपना देख्ने युवामा परिस्थितिले साथ नदिँदा भने ‘डर्टी, डिफिकल्ट र डेन्जर’मा जानसक्ने अवस्थालाई निराकरण गर्नुपर्ने देखिएको बताउनुभयो ।
मन्त्री कार्कीले गुणस्तरीय शिक्षा प्राप्त गरेका युवाले प्रविधिसँग खेलेर मासिक रु डेढ लाखसम्म आर्जन गरिरहेको उल्लेख गर्दै त्यसैले आफूले युवालाई सूचना प्रविधिका क्षेत्रमा आकर्षित गराउन आग्रह गरेको दोहोर्याउनुभयो ।
उहाँले उच्च शिक्षालयबाट प्राप्त हुने प्रमाणपत्र केवल कालान्तरको ‘खोस्टो’ मात्रै हुने नबनाई व्यक्ति, परिवार र समाजका निम्ति उपयोगी हुनसक्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको सबैभन्दा ठूलो समस्या शिक्षित बेरोजगारी भएकाले उक्त जनशक्तिलाई रोजगारीमा परिणत नगरेसम्म विकास हुन नसक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले शैक्षिक गुणस्तर कायम गर्ने तथा गाउँपालिकालाई धार्मिक पर्यटनसँगै कृषि तथा पशुपालनका माध्यमबाट समृद्ध बनाउने योजना अघि सारिएको बताउनुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्