लगातारको वर्षाले दोलखाका एक सय बढी घर परिवार जोखिममा
दोलखा । केही दिन देखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण दोलखाका एक सय बढी घर परिवार जोखिममा परेका छन् ।
उच्च जोखिममा परेका घरपरिवारका मानिसलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय पालिका, रेडक्रस, स्थानीय नागरिक लगायतको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक गङ्गा प्रसाद पौडेलले बताउनुभयो ।

जिल्लामा आइतबार रातिको अविरल वर्षाले धेरै क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार राति जिल्लाको तामाकोसी गाउँपालिका–४ मालुखोला बजारमा मालुखोलाको बाढी पस्दा १५ घर परिवार जोखिममा रहेको र उनीहरू सबैलाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।
दोलखाकै मेलुङ गाउँपालिका–२ साउने टोलमा डेढ सय मिटर जमिन भासिदा पाँच घर परिवार जोखिममा परेको र उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको विगु गाउँपालिका–४ मा पर्ने सिंगटी बजारमा माथिबाट ठूलो ढुङ्गा खस्न सक्ने भएकोले त्यसको जोखिममा पर्ने २५ घर परिवारका मानिसलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।
जिल्लाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा गत वर्षदेखिकै पहिरो नियन्त्रण नहुँदा आसपासका पाँच, छ घर उच्च जोखिममा रहेकाले त्यहाँका मानिसहरू पनि सुरक्षित स्थानमा सरिसकेको प्रहरी नायव उपरीक्षक पौडेलको भनाई छ ।
अविरल वर्षा पछिको पहिरोकै कारण मेलुङ गाउँपालिका–१ पवटीको प्रकाश गदाइलीको घरमा क्षति भएको प्रहरीले जनाएको छ ।

पहिरोकै कारण शैलुङ गाउँपालिका–८ तल्लो पोखरेका ५० घर परिवार उच्च जोखिममा रहेको स्थानीय मोहनसिंह तामाङले बताउनुभयो । जोखिममा परेको घर परिवारका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको तामाङको भनाई छ ।
अत्यधिक वर्षाका कारण आएको बाढीपहिरोले दोलखाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका लगायतका ठाउँमा समेत घर तथा सडकहरू जोखिममा रहेकोले त्यसको रोकथाम र पीडितलाई सुरक्षित स्थानमा लाने काम भइरहेको प्रहरीको भनाई छ । अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परी पीडित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने कतिपय घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी दोलखाले लत्ताकपडा, त्रिपाल लगायतका सामग्री वितरण गरेको सभापति गोकर्ण प्रसाद पोखरेलले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्