तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण मेलम्ची र हेलम्बुका सडकमा क्षति

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची हेलम्बु आसपासका क्षेत्रका सडकमा  क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची हेलम्बु तथा मेलम्ची पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रहरूमा यस वर्ष पनि क्षति हुन थालेको हो ।

बाढीका कारण मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागहरूमा पहिरो जाँदा बस्तीहरूसमेत जोखिममा पर्न थालेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिकहरू ढुक्कले सुत्न पाएका छैनन् । “बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ हामी मर्मत गरिरहेका छौं ।

केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौं ‘हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । यता मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक खुलाउन मेसिन पठाइसकिएको नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button