तपाईँ सुन्दै हुनुहुन्छः

भिडभाड नगर्न र सावधानी अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भिडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भिडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

File photo

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भिडभाड हुने स्थानमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, गराउन तथा प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्न, गराउन आग्रह गरिएको छ ।

यस्तै विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्न गराउनु तथा सेनिटाइजरको व्यवस्था गर्न गराउन, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र सेनिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिको व्यावसायिक तथा मनोरञ्जन स्थल, रङ्गशाला आदिजस्ता सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न, स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न गराउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

यस्तै अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी थप बलियो र प्रभावकारी बनाउन, भिडभाड हुने स्थानमा कोभिड–१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदाय स्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदम चाल्न अनुरोध गरिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button