श्रम मन्त्रालयद्वारा कतारमा हुने विश्वकप फुटबलमा श्रमिक लैजान अनुमति
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ ।

प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पुरा गरेर पठाउने निर्णय समेत गरेको छ ।
छोटो अवधिका लागि पठाउने भएकाले उनीहरूको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोख्रेलले जानकारी दिनुभयो ।
फुटबल प्रतियोगिताका लागि कामदारको माग आएको कुरा यसअघि कतारमा रहेको नेपाली दूतावासलाई रोजगारदाता कम्पनीले जानकारी गराएका थिए । आफूलाई जानकारी आएपछि दूतावासले पत्र लेखेको थियो । मन्त्रालयले गरेको यो निर्णय अब फेरी कतारमा रहेको नेपाली दूतावासलाई पठाइने छ । यो निर्णयसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गरेर कामदार पठाउन पाइने छ ।








प्रतिक्रिया राख्नुहोस्