नागरिकता विधेयकमा प्रतिनिधिसभामा दफावार छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९” माथिको दफावार छलफल जारी छ ।
छलफलमा विधेयकमाथि संशोधन प्रस्ताव राख्दै संशोधनकर्ता सांसदहरुले नेपाली पुरुषसँग विवाह गरी आएका महिलाले अङ्गीकृत नागरिकता पाउन सात बर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभएको छ ।
विधेयकमाथिको दफावार छलफलमा छुट्टाछुट्टै संशोधन प्रस्ताव राख्दै संशोधनकर्ता सांसद खगराज अधिकारी र नरबहादुर धामीले नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरे सात वर्षपछि अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
संशोधनकर्ता सांसद कृष्ण प्रसाद दाहालले २०७२ असोज ३ गतेअघि जन्मका आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबुआमाका सन्तानले दाजु दिदीले सरह नागरिकता पाउनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
उहाँले अङ्गीकृत नागरिकताको हकमा नेपाली चेलीले विदेशीसँग विवाह गरेर १५ बर्ष नेपालमा बसेमा अङ्गीकृत नागरिकता दिन सकिने व्यवस्था राख्न र बेलायतमा कार्यरत गोर्खा सेनाका हकमा दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा राखिनुपर्ने बताउनुभयो ।
संशोधनकर्ता सांसद सूर्य प्रसाद पाठकले गैर आवासीय नागरिकता गृह मन्त्रालयमा नै जानुपर्ने नभई सम्बन्धित जिल्लाबाट नै पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
संशोधनकर्ता सांसद गङ्गा चौधरी सतगौवाले नेपाली पुरुषसँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने व्यवस्था देशको हित विपरीत हुने बताउनुभयो ।
विधेयकमा संशोधन राख्दै सांसद धनश्याम खतिवडाले विधेयकभित्र ल्याइएको दफाहरू संविधान प्रतिकुल रहेको ध्यानाकर्षण गराउँदै अङ्गीकृत नागरिकता विवाह गरेर बसोबास गरेको ७ वर्षपछि मात्र पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो ।
उहाँले बाबुको प्रबन्ध नभएका सन्तानले नागरिकता प्राप्त गर्ने व्यवस्था जटिल भएकाले सहज बनाउनुपर्ने बताउनुभयो ।
नागरिकता विधेयक माथिको दफावार छलफलमा संशोधन राख्दै संशोधनकर्ता सांसद दुर्गा पौडेलले जन्मका आधारमा वंशजको नागरिकता दिन नहुने भन्दै यस्तो व्यवस्थाले नेपाली नै अल्पमतमा पर्ने व्यवस्था राष्ट्रघाती हुने बताउनुभयो ।
उहाँले अङ्गीकृत नागरिकताको हकमा विगत कै प्रावधान ठिक भएको बताउँदै छिमेकी देशको चुनावमा हारेपछि नेपालको सांसद बन्ने गरी नागरिकता दिने व्यवस्था राखिन नहुने धारणा राख्नुभयो ।
विधेयकमा संशोधन राख्दै सांसद प्रेम सुवालले नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने भन्दै आमा र बाबु दुवै वंशजको नेपाली नागरिक भएमात्र छोराछोरीलाई वंशजको नागरिकता नागरिकता दिनु पर्ने र नेपालीसँग विवाह गरेका पुरुष र महिलालाई बीस वर्षपछि नेपालको कृत्रिम नागरिकता दिनुपर्ने धारणा राख्नुभयो ।
संशोधनकर्ता सांसद विमला विकले आमा वा बाबु नेपालका नागरिक रहेको हकमा निजका सन्तानले नेपालको नागरिकता पाउनुपर्ने र पितृत्वको ठेगान नभएको सन्तानले नागरिकता लिन स्वघोषणा गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने बताउनुभयो ।
यसअघि, बैठक सुरु हुनासाथ समय माग गर्दै सांसद मिनेन्द्र प्रसाद रिजालले नेपालको पहिलो संसद्को नेता भएको स्मरण गराउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर जनतालाई सार्वभौम बनाउने नेताको रुपमा रहेको स्मरण गराउनुभयो ।
उहाँले आज विपी स्मृति दिवसको स्मरण गराउँदै संसद्को पहिलो नेता समेत भएकाले संसद्ले उहाँको स्मरण गर्नुपर्ने धारणा राख्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्