शैक्षिक तथा पूर्वाधार विकासका लागि साझा पहल जरुरी

जुम्ला । कर्णाली प्राविधिक शिक्षालयको आज ४२ औँ वार्षिक उत्सव मनाइएको छ ।
२०३७ सालमा स्थापना भएको नेपालकै जेठा प्राविधिक शिक्षालयको ४२औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि साझा पहल जरुरी रहेको बताउनुभयो ।
दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई राजनीतिकरण गर्न नहुनेमा उहाँको जोड छ । शिक्षामा गुणस्तर,पूर्वाधार विकासमा जोड र टिकाउ बिकाऊ सिकाऊ हुने खालको शिक्षा प्रदानमा सुझाव दिनुभयो ।
उहाँले शिक्षालयमा खानेपानी, बत्तीको चरम समस्या रहेकोले उक्त समस्या समाधानका लागि पहल गरिने उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले कर्णालीका निम्न मध्यम वर्गीय विद्यार्थीका लागि प्राविधिक शिक्षा आर्जन सहज माध्यम शिक्षालय बनेको बताउनुभयो ।
बजेट अभावले स्तरबृद्धि हुन नसकेका संरचना अघि बढाउन, शिक्षामा गुणस्तर ल्याउन तथा शान्ति सुरक्षा कायम गर्न प्रशासनले आवश्यक पहल गर्ने उहाँको भनाई छ । उहाँले शिक्षामा गुणस्तरसँगै विद्यार्थीमा अनुशासन पालनामा जोड दिनुभयो ।
बजेट अभावले शिक्षालय स्तर वृद्धिमा चुनौती
बजेट अभावले नेपालकै जेठो ‘कर्णाली प्राविधिक शिक्षालय’ जुम्लाको स्तर वृद्धिमा समस्या भएको छ ।
मुलुककै पहिलो शिक्षालयमा खानेपानी, बिजुली तथा भौतिक संरचनाको अभाव वर्षौँदेखि भएपनि बजेट नहुँदा स्तरबृद्धि हुन सकेको छैन ।
२०३७ सालमा स्थापना भएको शिक्षालयमा बाली विज्ञान,वन विज्ञान,ओभरसियर,सव–इन्जिनियर लगायतका दर्जनौँ कार्यक्रम सञ्चालन छन् ।
शिक्षालय प्रमुख टेकेन्द्र थापाले भन्नुभयो, “मुलुकै जेठो प्राविधिक शिक्षालयमा तीनै तहका सरकारको ध्यान पुगेको छैन । झण्डै साढे ५ सय ७२ विद्यार्थी अध्ययनरत छन् । खानेपानी बत्ती र सुविधायुक्त संरचनाकोले पठनपाठन प्रभावित भइरहेको छ । तर माग गर्दा पनि प्रदेश सरकारले उचित सहयोग हुन सकेको छैन ।”
शिक्षालयले मुलुकका विभिन्न निकायमा झण्डै ४ हजारभन्दा बढी दक्ष जनशक्ति प्रदान गरिसकेको छ । सचिव उपसचिवदेखि गाउँपालिका अध्यक्षसम्म शिक्षालयका विद्यार्थी पुगेका छन् । तर शिक्षालयको स्तरबृद्धिमा तीनै तहका सरकारले अपेक्षित लगानी नगर्दा अभावकै बीच पठनपाठन भइरहेको उहाँले बताउनुभयो ।
गत आवमा शिक्षालयमा विनियोजित ५४ लाख ७५ हजार बजेट मध्ये ९४ प्रतिशत बजेट खर्च भएको छ भने चालुतर्फ विनियोजित, ७ करोड ४७ लाख ८० हजार ५ करोड ५८ लाख ५६ हजार ८ सय ६२ रुपैयाँ खर्च भएको छ ।
उहाँले शिक्षालयमा एचए र स्टाफ नर्सको पढाइको उच्च माग भएपनि सङ्घीय सरकार र कर्णाली प्रतिष्ठानले अनुमति नदिएको समेत गुनासो गर्नुभयो ।
हिमा गाउँपालिकाका अध्यक्षले दुई लाख दिने घोषणा
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले आफ्नो कान्छो भाइ सुरेन्द्र शाहीको स्मृतिमा अक्षयकोष स्थापना गर्न व्यक्तिगत दुई लाख रुपैयाँ दिने घोषणा गर्नभयो ।
कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत स्वर्गीय भाइ सुरेन्द्रको स्मृतिमा शिक्षाको वृद्धि विकासका लागि अक्षयकोष स्थापना गर्न दुई लाख दिने घोषणा गर्नुभएको हो ।
अध्यक्ष शाहीले अक्षयकोषले शिक्षाको शैक्षिक उन्नयनमा थोरै भए पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले हिमा गाउँपालिकाले शिक्षालयको विकासका लागि ५ लाख दिने समेत घोषणा गर्नुभयो ।
कर्णाली प्राविधिक शिक्षालयको शिक्षालयको शैक्षिक तथा भौतिक अवस्था सुधारका लागि राज्यका सबै निकाय गम्भीर हुनुपर्ने उहाँको भनाई छ ।
उहाँले शिक्षालय सुधारको विषय तीनै तहका सरकारको बजेट तथा नीति कार्यक्रममै समेटिनु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्