विश्वविद्यालय सुधार गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी गरेर पढाई अवरुद्ध गर्ने कार्य गलत भएको बताउनुभएको छ ।
काठमाडौँ विश्वविद्यालय, व्यवस्थापन सङ्कायले आज आयोजना गरेको उच्च शिक्षाको समस्या र समाधान विषयक छलफल कार्यक्रममा मन्त्री पौडेलले विश्वविद्यालयहरूमा गम्भीर समस्या आएमा आपसी छलफल र वार्ताका माध्यमबाट समाधान गर्न विद्यार्थी र प्राध्यापकहरूलाई आग्रह गर्नुभयो ।
मुलुकभित्रका ११ वटै विश्वविद्यालयलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सके युवाहरू पढाइका लागि भौँतारिँदै बिदेसिन नपर्ने मन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थी भिसामा विदेश जाने युवाहरूमध्ये थोरैले मात्रै अध्ययन गर्ने गरेकाले पढाइसँगै रोजगारीको अवसर पाए युवा विद्यार्थी नेपालमै अध्ययन गर्ने बताउनुभयो ।
उच्चशिक्षा तथा विद्यालय सङ्घ हिसान का अध्यक्ष रमेश सिलवालले उत्कृष्ट शिक्षा नेपालमै सम्भव रहेकाले विश्वविद्यालयहरूले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रकाश लामिछाने, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्दबहादुर सिंह, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, गण्डकी विश्वविद्यालय, बोर्ड अफ ट्रष्टीका सदस्यसचिव डा.गणेशमान गुरुङलगायतले विश्वविद्यालयमा राजनीतिक दबाबका कारण काम गर्न समस्या परेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्