तपाईँ सुन्दै हुनुहुन्छः

कालिकोटको पिलिमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

जुम्ला । दुई दिनदेखि लगातार भइरहेको अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

वर्षातले कालिकोट जिल्लाको पिली सडक खण्डमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । 

आज बिहान खडाचक्र नगरपालिका–७ स्थित पिलि सडक खण्डको माथिबाट सुक्का ढुङ्गा माटो सहितको पहिरो आउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

बुधबार गएको पहिरो पन्छाए लगत्तै बिहीबार बिहान पुनः सोही क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । यातायात ठप्प छ । सयौँ यात्रु अलपत्र अवस्थामा परेका छन् । 

जुम्लादेखि नेपालगन्ज जाँदै गरेका यात्रु लोकेन्द्र गिरीले भन्नुभयो, “जुम्ला खण्डको नाग्मदेखि रारालिहि र कालिको खण्डमा सडक स्तरबृद्धि भईकोले पहिरो आउने समस्या छ । दैलेख खण्डमा भने त्यति समस्या छैन । यात्रालाई सहज गर्न पहिरो पन्छाउने कार्यलाई प्रभावकारी गर्नुपर्ने देखिन्छ ।”

यता सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले पिलिमा गएको पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडक खुलाउन मेसिन सहित जनशक्ति पिलि क्षेत्रमा खटिएको छ । सडक स्तरबृद्धि भइरहेकोले पहिरो आउने क्रम जारी छ । अवरुद्ध सडक खुलाउन मेसिन सहित जनशक्ति तैनाथ छन् । तर एकै पटक धेरै ठाउँमा पहिरो गएको खण्डमा केही समय लाग्छ ।”

प्रमुख श्रेष्ठका अनुसार नाग्म–गमगढी सडक खण्डको केही क्षेत्रमा सडक अवरुद्ध भएको छ । भने सडक अवरुद्ध खुलाउन कर्णाली राजमार्गको पिलि, मान्मा, रारालिहि र नाग्म–गमगढी सडकको बुलबुले क्षेत्रमा मेसिन सहित जनशक्ति तयारी अवस्थामा रहेको प्रमुख श्रेष्ठको भनाई छ । 

वर्षा जारी रहेको र एकै पटक धेरै ठाउँमा पहिरो आएमा नागरिकले भने र चाहेजस्तो छिटै सडक खोल्न मुस्किल हुने सडक डिभिजन जुम्लाले जनाएको छ । यद्यपि, निरन्तर सडक खुलाउन लागि परेको समेत प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

खोलाले बगाउँदा एकजना बेपत्ता 
बिहीबार बिहान कालिकोट स्थित टिपघाट खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । 

खोलाले बगाउँदा पलाता गाउँपालिका– ७ का ४० वर्षीय धर्मदत्त जैसी रहेका छन् । खोला तर्ने क्रममा जैसीको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बेपत्ता जैसीको प्रहरी तथा स्थानीयको संयुक्त टोलीको खोजी कार्य गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button