तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूद्वारा विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठक सुरु हुनासाथ सांसदहरुले वर्षा र खेतीपातीको समयमा किसानले मल नपाएर हैरानी खेपिरहनुपरेको, विद्यालयमा पठनपाठन सुरु भइसकेको ३ महिना बितिसक्दा पनि देशका कतिपय स्थानमा अझै पनि पाठ्यपुस्तक पुग्न नसकेकोमा सरकारको ध्यानकृष्ट गराउनुभयो । 

सांसदहरुले नेपाली मुद्राको अवमूल्यन हुँदै गएको र जनता महँगीको मारमा परिरहेकाले गरिब तथा विपन्नलाई राहतका कार्यक्रम दिनुपर्ने र विभिन्न स्थानमा सुपथ मूल्य पसलहरू सञ्चालन गरेर जनतालाई राहत दिन सकिने भएकाले त्यसतर्फ सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले अमेरिकी सेनाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गरिसकेको भएपनि अमेरिकालाई पत्र किन नपठाइएको भनी प्रश्न उठाउनुभयो । 

यस्तै, बैठकमा सांसदहरुले महँगीको मारमा परेका श्रमिक मजदुरको ज्याला बढाउन, बाढी पहिरो प्रभावितहरूको राहत र उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसरी सरकारको ध्यानाकर्षण गराउने सांसदहरूमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, तथा सांसदहरु प्रदीपकुमार ज्ञवाली, महेश बस्नेत, देब गुरुङ,  रंगमती शाही भानुभक्त ढकाललगायत रहनुभएको छ । 

प्रतिनिधिसभाको बैठक अहिले जारी छ । 

आजको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल गरिने कार्यसूचीमा छ ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम गठन भएको संसदीय छानविन विशेष समितिको कार्यविधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने लगायतका कार्यसूची रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button